जनता टाइम्स

२३ श्रावण २०७६, बिहीबार १२:४२

अमेरिकाको कृषिजन्य सामग्री प्रशोधन गर्ने कम्पनीमा छापा, ७ सय आप्रवासी कामदार पक्राउ


काठमाडौं, साउन २३

अमेरिकाका अध्यागमन अधिकारीहरूले सात सय गैरकानुनी आप्रवासी कामदारलाई पक्राउ गरेका छन्। मिसिसिपीका सात वटा कृषिजन्य सामग्री प्रशोधन गर्ने कम्पनीमा छापा हानेर बुधबार ६ सय ८० जना कामदार पक्राउ गरिएको इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्टले जनाएको छ।

ती कम्पनीका व्यापरिक रेकर्डहरू पनि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ। पक्राउ परेकामध्ये केहीलाई मानवीय कारणले रिहाइ गरिनेछ। उनीहरू अध्यागमन अदालत, न्यायाधीवक्ताको कार्यालयमा उपस्थित हुनु पर्नेछ । बाँकी अरूलाई लुजियानास्थित हिरासत केन्द्रमा राखिनेछ।

पक्राउ परेकाहरू कुन–कुन देशका हुन भन्ने खुलाइएको छैन। मेक्सिकोको महावाणिज्यदूतावासले घटनास्थलमा गएर आफ्ना नागरिक पक्राउ परेको भए आवश्यक सहयोग गर्ने जनाएको छ। डेढ महिनाअघि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लाखौं गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने अभियान थालेको थियो। ‘जतिसक्दो चाँडो उनीहरूलाई हटाइनेछ,’ ट्रम्पले भनेका थिए ।

उनले गैरकानुनी आप्रवासी रोक्न छिमेकी मेक्सिकोले गरिरहेको कडाइको पनि तारिफ गरेका थिए । मेक्सिकोले मध्यअमेरिका हुँदै अमेरिका छिर्न खोज्ने गैरकानुनी आप्रवासीलाई रोक्ने सहमति गरेको थियो। आप्रवासी रोक्न विशेष सुरक्षाकर्मी सीमामा पठाउने मेक्सिकोको प्रतिवद्धतापछि ट्रम्पले मेक्सिकन सामानमाथि लगाउने भनेको कर तत्कालका लागि स्थगित गरेका थिए । अमेरिकामा अहिले झन्डै १ करोड २० लाख गैरकानुनी आप्रवासी रहेका छन्। तीमध्ये धेरै मध्य तथा ल्याटिन अमेरिकी मुलुकका छन्।