जनता टाइम्स

१५ मंसिर २०७९, बिहीबार १७:४४

कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानको बेथिति : बिमितको कार्ड लिने फिर्ता नगर्ने


जुम्ला, १४ मंसिर । चन्दननाथ नगरपालिका–५ की राइदेवी कार्की चार महिनाअघि कर्णाली स्वास्थ्य प्रतिष्ठानमा स्वास्थ्य उपचारका लागि जानुभएको थियो । मधुमेहकी रोगी कार्कीले स्वास्थ्य बिमा गरेको आधारमा उपचारका लागि प्रतिष्ठान जानुभएको हो । प्रतिष्ठानमा टिकट काट्ने एक कर्मचारीले बिमा कार्ड राखेर रातो पुर्जी दिएर भित्र पठायो । उपचार गरेर फर्किदा कार्ड लिन उनले भुलिन् ।

पछि खोज्दा प्रष्ठिानले कार्ड हरायो भनेर फर्काइ दियो । तातोपानी–२ को रामदेवी बुढाले पनि नयाँ कार्ड बनाइदिन भन्दै स्वास्थ्य बिमा बोर्डमा निवेदन दिनुभएको छ । उहाँको कार्ड पनि प्रष्ठिानले नै हराइदिएको हो । कार्की र बुढा त प्रतिनिधि पात्र मात्रै हुन् । जुम्लामा पछिल्लो ११ महिनामा एक हजार दुई सय ५० जनाले हराएको भन्दै नयाँ कार्ड बनाएका छन् । यसमध्ये अधिकांशले उपचारका क्रममा हराएको बताउने गरेका छन् ।

सरकारले विपन्न नागरिकको उपचारमा सहज होस भनेर स्वास्थ्य बिमा कार्यक्रम लागु गरेको हो । तर, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको लापरवाहीका कारण उपचार गरेनै पिच्छे जुम्लाबासीले नयाँ कार्ड बनाउनु पर्ने अवस्था छ । स्वाथ्य बिमा बोर्ड जुम्लाका अनुसार जुम्लामा ६२ हजार नागरिककले स्वाथ्य बीमा गरेका छन ।

कार्कीका अनुसार प्रतिष्ठानका कर्मचारीले सुरुमै कार्ड मागेर आफैसँग राख्छन् र रातो पुर्जी दिन्छन् । उक्त पुर्जीले उपचार भए पनि कार्ड भने तीन बजेपछि मात्रै दिने गर्छन । टाढा घर हुने सर्वसाधारण उक्त कार्ड अर्को दिन लिने भन्दै जाने गर्छन र पछि आउँदा हराएको जवाफ पाउँछन् ।

स्वाथ्य बीमा बोर्ड जुम्लाका संयोजक कमल रावतका अनुसार ११ महिनामा नयाँ कार्ड बनाएर ६२ हजार रुपैयाँ संकलन भएको छ । कार्ड बनाउन आउने अधिकांशले उपचारको क्रममा हराएको जवाफ दिने गरेका छन् । हराएको कार्ड पुनः बनाउँदा एउटाको ५० रुपैयाँ लाग्छ ।

उपचारअघि बिमा कार्ड प्रतिष्ठानले राख्नै पर्ने हो र ?

प्रतिष्ठानले बिमा कार्ड जमानत राखेर मात्रै उपचार गर्ने गरेको छ । कार्ड राखेर रातो पुर्जा दिने र सोही दिन ३ बजे कार्ड फिर्ता गर्ने नियम बनाएको छ । तर, यो नियम नेपाल सरकारले बनाएको भने होइन । प्रतिष्ठानले आफ्नो सहजताका लागि बिरामीलाई दुःख दिने गरेको सेवाग्राहीहरूको आरोप छ ।

उपचार सकिएपछि पनि कार्डकै लागि कुर्न पर्ने हुँदा बिरामीले थप दुःख पाउने गरेका छन् । संयोजक रावतका अनुसार प्रतिष्ठानले एउटा बिमितको कार्डबाट बिमा नै नगरेकाको समेत उपचार गर्दै आएको फेला परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिष्ठानको लापर्वही बढ्दो छ । बिरामीले ल्याएको बिमा कार्ड आधिकारिक हो होइन समेत जाँच गर्दैन ।’ उहाँका अनुसार बिमा गरेका नागरिक उपचार गर्न आउदा कार्ड स्यान गरेर बिरामीलाई नै फिर्ता दिनुपर्छ । तर, प्रतिष्ठानले कार्ड नै जमानत राखेर रातो पुर्जी दिँदा नागरिकले हरेक पटक नयाँ कार्ड बनाउनु पर्ने बाध्यता छ ।

बिमा अनुसारको औषधि नपाएको गुनासो

बीमा गरेका नागरिकले सरकारले तोकेअनुसारको औषधि समेत नपाएको गुनासो गरेका छन् । मेडिसिन सिटीक्यान गर्दा बिमाबाटै उपचार पाउनु पर्ने उल्लेख छ । तर, प्रतिष्ठानका कर्मचारीले छुट्टै पैसा उठाउने गरेका छन् ।

इन्टरनेटको समस्याले कार्ड राख्ने गरेका हौं : प्रतिष्ठान

कर्णाली स्वाथ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता रमेश भट्टराई जुम्लामा इन्टरनेटको समस्याका कारण सधै कार्ड स्क्यान गर्न नमिल्ने गरेको बताउँनुहुन्छ । त्यसै कारण बिरामीलाई रातो पुर्जी दिने र पछि कार्ड फिर्ता गर्ने गरेको उहाँको भनाइ छ ।कार्ड स्क्यान गरेर उपचारमा जाँदा ढिला हुने भएकाले यो स्टिम लागु गरेको उहाँको भनाइ छ ।

बिरामीलाई पुर्जा दियर उपचार गराउने अनि कार्ड बिस्तारै स्यान गर्ने गरेको उहाँले बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रमका लागि प्रतिपरिवारबाट वार्षिक तीन हजार पाँच सय बुझाउनुपर्छ । उनीहरूले प्रतिव्यक्ति एक लाखसम्मको उपचार पाउने गर्छन ।