जनता टाइम्स

१८ मंसिर २०७९, आईतवार १८:४५

‘एभरेष्ट म्यान’ वृत्तचित्र उत्कृस्ट डकुमेन्ट्रीका रुपमा पुनः पुरस्कृत


काठमाडौं, १८ मंसिर । एभरेष्ट म्यान, वृत्तचित्रलाई सन २०२२ को नोभेम्बरमा कजाकिस्तानमा भएको वास्ताउ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृस्ट डकुमेन्ट्रीका रुपमा पुरस्कृत गरिएको छ । प्रसिद्ध पर्वतारोही कामीरिता शेर्पाको साहसिक कार्यलाई चित्रण गर्ने वृत्तचित्रले यसअघि पनि सम्मान पाएको थियो ।

वृत्तचित्रमा शेर्पाले सबैभन्दा धेरै पटक सफलतापूर्वक सगरमाथा हिमालको आरोहण गरेको सन्दर्भका साथै सबैभन्दा बढी चुनौतीको सामना गरेर सफल आरोहण गरेको बिषयलाई प्रमुख रुपमा समेटेको छ । यस एभरेष्ट म्यान वृत्तचित्रका निर्देशक बिनोद अधिकारीले आफ्नो टोली र कामको कदर गरेकोमा निर्णायकहरुप्रति आभार प्रकट गर्नुभएको छ ।

अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट वृत्तचित्र प्रस्तुत गरेर नेपाललाई विश्वसामु चिनाउन गरेको योगदानको लागि आफ्नो सम्पूर्ण सहयोगी समूहसहित विशेषतः कामीरितालाई धन्यवाद दिनुभएको छ । उहाँले भन्नुभयो,‘यस्ता प्रकारका वृत्तचित्रले नेपाल र नेपालीको शिर उँचो बनाउँछ र विश्वसामु अझ चिन्न प्रेरित गर्छ । हाम्रो यस्तो कामबाट प्रेरित भई सम्मानित गर्नुहुने आयोजकलाई धन्यवाद छ । यस्ता कार्यका लागि नेपाल र नेपालीले गर्व गर्नुपर्छ ।’

निर्देशक अधिकारीले आफ्नो डकुमेन्ट्रीमा पर्वतारोहण मात्र नभई आरोहणका क्रममा हुने प्रक्रिया, सामना गर्नुपर्ने चुनौति, आरोहणका क्रममा पूरा गर्नुपर्ने पूजा, बिधी, धार्मिक तथा सांस्कृतिक पाटोलाई समेत समावेश गर्नुभएको छ । वृत्तचित्रमा विशेषगरी सुप्रसिध्द आरोही कामीरिता शेर्पाले चौबीसौँ पटकसम्म (हाल २५ पटक पुगेको) सगरमाथाको सफल आरोहण गर्ने क्रममा सामना गर्नु परेको चुनौतीलाई प्रष्ट रुपमा प्रस्तुत गरिएको छ ।

निर्देशक अधिकारीले आफूले जलवायु परिवर्तनका कारण हिमाली वातावरणमा परेको असरहरुलाई वृत्तचित्रका माध्यमबाट देखाएको दाबी गर्नुभयो । उहाँले यसका असरहरु कम गर्ने र पर्यावरणीय दीगोपना कायम गराउने पर्यटन र पर्वतारोहणका कार्यमा काम गर्न इच्छुक रहेको पनि सुनाउनुभयो । उहाँले जलवायु परिवर्तनको असर पर्वतारोहण र हिमाली समुदायका लागि हानिकारक सावित भएको पनि बताउनुभयो ।

उहाँले थप्नुभयो,‘पहाडले हिउँ गुमाए भने हिमाल आरोहणको महत्व गुम्छ ।’ हरेक वर्ष हिमालले जलवायु परिवर्तनको असर भोगिरहेको भन्दै आरोहणका मौसममा पहिले भन्दा धेरै हिमपहिरो जाने गरेको समेत तथ्य उल्लेख गर्नुभयो । यस वृत्तचित्रबाट उहाँले शेर्पाहरू, उनीहरूको पहिचान र साहसिक कार्य, पृथ्वीको हिमाली क्षेत्रको वातावरण र यसको बचाउका बारेमा चेतना जगाउने कार्यका लागि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यसअघि ओहायोको चाग्रिन फिल्म फेस्टिबलमा पनि यस चलचित्र पुरस्कृत भएको थियो ।