जनता टाइम्स

२० मंसिर २०७९, मंगलवार २०:१८

सकियो समानुपातिकको मतगणना : २८ लाख ४६ हजार मतसहित एमाले पहिलो बन्दा नेकपा एस बन्न सकेन राष्ट्रिय पार्टी


काठमाडौं, मंसिर २० । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सम्पन्न भएको छ । मत परिणाम अनुसार सात वटा राजनीतिक दल राष्ट्रिय पार्टी बनेका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको समानुपातिकतर्फको मत परिणाम अनुसार तीन प्रतिशत मत कटाउने दललाई राष्ट्रिय मान्यता दिँदा सात दलले मात्र आयोगले निर्धारण गरेको थ्रेसहोल्ड कटाएका छन । आयोगका अनुसार थ्रेस होल्ड काट्न ३ लाख १६ हजार ८०२ मत चाहिन्छ ।

जस अन्तर्गत नेकपा एमालेले २८ लाख ४५ हजार ६४१ मत ल्याएर समानुपातिकमा पहिलो पार्टी बनेको छ । दोस्रो नेपाली कांग्रेसले २७ लाख १५ हजार २२५ मत ल्याएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६८४ मत पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३४४ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८८ हजार ८४९ मत पाएको छ । यसैगरी जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ३१३ मत पाएको छ । जनमत पार्टीले ३ लाख ९४ हजार ६५५ मतसहित थ्रेस होल्ड कटाएको छ ।

नेकपा एकीकृत समाजवादी भने राष्ट्रिय दल बन्नबाट बञ्चित भएको छ । एकीकृत समाजवादीले निर्वाचन आयोगले तोकेको थ्रेस होल्ड कटाउन १८ हजार ४११ मत पुर्याउन नसकेको हो ।

थ्रेसहोल्ड कटाउन आवश्यक ३ लाख १६ हजार ८०२ मत चाहिनेमा नेकपा एकीकृत समाजवादीले २ लाख ९८ हजार ३९१ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ भने नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । १० सिट जिते पनि अव सो पार्टीको हैसियत आठौं नम्बरमा पुगेको छ ।