जनता टाइम्स

२४ श्रावण २०७६, शुक्रबार १०:०२

विद्युत् आयोजनाको बाँध बाढीले बगाएपछि अन्धारमय बन्यो सिङ्गो गाउँ


बाग्लुङ, साउन २४ । बाढीले विद्युत् आयोजनाको बाँध बगाएपछि जिल्लाको निसीखोला गाउँपालिका–४ का एक हजार १२० घरमा विद्युत् आपूर्ति बन्द भएको छ । निसीखोला गाउँपालिका–४ जैथुम्कामा रहेको १२० किलोवाट क्षमताको निसीखोला दोस्रो जलविद्युत् आयोजनाको बाँध बाढीले बगाएपछि पाँच दिनदेखि विद्युत् उत्पादन बन्द भएको हो ।

आयोजनाको उत्पादन बन्द भएसँगै निसीखोलाका बोहोरागाउँ, थापागाउँ, झिवाँखोला, छापाखानी, धाराखर्क, धुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायतका ठाउँमा विद्युत् आपूर्ति बन्द छ । आइतबार राति वर्षासँगै आएको बाढीले आयोजनाको बाँध कामै नलाग्ने गरी बगाएको छ । निसीखोलामा रहेको २० मिटर बाँध गहिरो गरी बगाएकाले विद्युत् आपूर्ति बन्द भएको आयोजनाका अध्यक्ष लोकेश्वर पौडेलले बताउनु भयो ।

वर्षाको समय भएकाले तत्काल मर्मत गर्न सम्भव नरहेको आयोजनाले जनाएको छ । वर्षा रोकिएर खोलामा पानीको बहाव घटेपछि मात्रै बाँध मर्मत गर्न सकिने स्थानीयबासीको भनाई छ ।