जनता टाइम्स

२४ श्रावण २०७६, शुक्रबार १०:२०

फेक समाचार बनाउनेलाई कावा प्रधानमन्त्री इश्वर पोखरेलको चुनौती : पुष्टि गर, नभए क्षमायाचना गर


काठमाडौं, साउन २४ । कार्यबहाक प्रधानमन्त्री ईश्वर पोखरेलले पूर्वराजा ज्ञानेन्द्रसँग भेटबार्ता भएको बिषयको समाचारलाई पुष्टि गर्न वा क्षमायाचना गर्न चुनौती दिनुभएको छ । बिहीबार १० बजेर ५० मिनेट जाँदा एक ट्विट गर्दै सत्तारुढ नेकपाका सचिवालय सदस्यसमेत रहनुभएका कार्यबहाक प्रधानमन्त्री पोखरेलले सो चुनौती दिनुभएको हो ।

‘निर्मल निवासमा पूर्वराजा ज्ञानेन्द्र शाहसित मैले भेट गरेको र षडयन्त्रका तानाबाना बुनेको सनसनीखेज र शतप्रतिशत गलत समाचार छाप्ने केही ठूला छापाहरु, अनलाइनहरु तथा त्यसैमा केन्द्रित रही विश्लेषण गर्ने विश्लेषकहरुप्रति खेद व्यक्त गर्दछु । पुष्टि गर, नभए नैतिकता छ भने क्षमायाचना गर,’ कार्यबहाक प्रधानमन्त्री पोखरेलले ट्विट गर्दै भन्नुभएको छ ।

केही समययता निरन्तर आफूमाथि आक्रमण भएपछि पोखरेलले प्रतिवाद गर्नुभएको हो । सामाजिक सञ्जालममार्फत नै उहाँले आफूले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको पुष्टि गर्न चुनौति दिनुभएको हो ।