जनता टाइम्स

२४ श्रावण २०७६, शुक्रबार १०:४८

डेढ महिनादेखि नेपाली नक्कली नोट बनाउदै आएका चार जना पक्राउ


धनगढी, साउन २४

डेढ महिनादेखि नेपाली नक्कली नोट छाप्दै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–१ नैनादेवी मन्दिरनजिकै नक्कली नोट बनाउदै गरेका चार जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका– १ का २५ वर्षीय खग्रेन्द्र बम भन्ने खग्रेन्द्र रजवार, चुरे गाउँपालिका १ कै २२ वर्षीय भोजबहादुर बम, धनगढी उपमहानगरपालिका– ३ का २४ वर्षीय पल्लपराज भट्ट र महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका ६ का २५ वर्षीय गोकुल खड्का रहेका छन्। गोकुल नक्‍कली नोट छाफ्ने योजनाका मुख्य नायके हुन्।

गोकुल खड्कालाई सिआईवीको टोलीको सहयोगमा काठमाडौंबाट पक्राउ गरिएको हो भने अन्य ३ जना धनगढीमा नै पक्राउ गरेको कैलालीका प्रहरी उपरीक्षक सुदिपबहादुर गिरिले जानकारी दिनुभयो । उनीहरुको साथबाट खोटा नोट छाप्ने एक थान मेसिन, नोट छाप्न प्रयोग भएको दुई सय २० थान सेतो पेपरलगायतका नेपाली र भारतीय नक्‍कली नोट समेत बरामद गरिएको छ।

पछिल्लो दुई महिनामा धनगढीमा तीनपटक नक्‍कली नोट फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। नक्‍कली नोट कारोबारीले पहाडी दुर्गम र भीडभाड हुने ठाउँमा नक्‍कली नोट प्रयोग गर्दै आएको प्रहरीको भनाई छ।