जनता टाइम्स

२४ श्रावण २०७६, शुक्रबार १३:०४

गोली हानेर समातियो लिखु–तामाकोशीका अध्यक्षलाई दुई करोड माग्दै धम्क्याउने रामेछापकै तामाङ


काठमाडौं, साउन २४ । प्रहरीले काठमाडौंको स्वयम्भूस्थित बिजेश्वरी हाउजिङमा गोली हानेर एक जनालाई पक्राउ गरेको छ । गाउँपालिका अध्यक्षलाई दुई करोड माग्दै ज्यान मार्ने धम्की दिने व्यक्तिलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

बिजेश्वरी हाउजिङमा रहेका लोप्सन भनिने मिलन तामाङलाई दुई गोली हानेर महानगरीय अपराध महाशाखाको टोलीले नियन्त्रण लिएको प्रहरीले जनाएको छ । रामेछाप मन्थली नगरपालिका निवासी तामाङले सोही जिल्लाको लिखु तामाकोशी गाउँपालिका अध्यक्ष गोविन्द खड्कालाई २ करोड नदिए ज्यान मार्ने धम्की दिएका थिए । राजधानीमा रहेर धम्की दिँदै आएका तामाङलाई पक्रन गएको महाशाखाको टोलीले भाग्न खोजेपछि गोली चलाएको हो ।

महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार तामाङको घुँडामा दुई गोली लागेको छ । प्रहरी टोलीलाई देख्नेवित्तिकै भागेपछि पक्रन उनमाथि गोली चलाइएको थापाले जानकारी दिनुभयो । गोली लागेका तामाङलाई उपचारार्थ वीर अस्पतालको ट्रमा सेन्टर भर्ना गरिएको छ ।