जनता टाइम्स

२४ श्रावण २०७६, शुक्रबार १३:४२

वडाध्यक्षले नै बनाए गाउँपालिका अध्यक्षको हत्या योजना, गोली हानेर समातीय दुई अभियुक्त


काठमाडौं, साउन २४ । रामेछापको लिखु–तामाकोशी गाउँपालिका अध्यक्ष गोबिन्द खडकाले सोही गाउँपालिकाका एक वडाध्यक्षले आफूलाई ज्यान मार्ने योजना बनाएको खुलासा गर्नुभएको छ । दुई करोड नदिए ज्यान मार्ने भन्दै धम्क्याउँदै आएका रामेछाप नगरपालिकाका लोप्साङ भन्ने मिलन तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गरेलगत्तै जनताटाइम्स डटकमसँग अध्यक्ष खडकाले आफ्नै गाउँपालिकाका वडा नम्बर ७ का वडाअध्यक्ष सुवाश बोहोराले ज्यान मार्न खोजेको बताउनु भयो ।

‘दुई करोड मागेर धम्क्याउने मात्रै होइन, मलाई मार्न नै खाजेका हुन, धन्न ज्यान बच्यो,’ घटनालगत्तै अध्यक्ष खडकाले जनताटाइम्ससँग भन्नुभयो । उहाँका अनुसार तामाङ एक मोहोरा हुन, मुख्य योजनाकार वडाध्यक्ष बोहोरा नै हुन । ‘मलाई मार्ने र चन्दा माग्ने यो घटनाको मुख्य योजनाकार मेरै गाउँपालिका ७ का वडाध्यक्ष सुवाश बोहोरा हुन, उनैले ज्यान मार्ने योजना बनाए,’ खडकाले भन्नुभयो ।

गाउँपालिका अध्यक्ष खडकालाई दुई करोड माग्दै धम्क्याउने लोप्सन भनिने मिलन तामाङ र अमृत तामाङलाई प्रहरीले काठमाडौंको स्वयम्भूस्थित बिजेश्वरी हाउजिङमा गोली हानेर पक्राउ गरेको छ । उनले गाउँपालिका अध्यक्ष खडकालाई दुई करोड माग्दै बारम्बार ज्यान मार्ने धम्की दिने गरेका थिए । महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गर्ने क्रममा बिजेश्वरी हाउजिङमा रहेका तामाङलाई दुई गोली हानेर नियन्त्रण लिएको थियो ।

रामेछाप मन्थली नगरपालिका निवासी तामाङलाई वडाध्यक्ष बोहोराले सो काम लगाएको अध्यक्ष खडकाको आरोप छ । राजधानीमा रहेर धम्की दिँदै आएका तामाङलाई पक्रन गएको महाशाखाको टोलीले भाग्न खोजेपछि गोली चलाएको हो । महाशाखा प्रमुख एसएसपी सहकुल थापाका अनुसार तामाङको घुँडामा दुई गोली लागेको छ । प्रहरी टोलीलाई देख्नेवित्तिकै भागेपछि पक्रन उनीमाथि गोली चलाइएको थापाले जानकारी दिनुभयो ।

गोली लागेका तामाङलाई उपचारार्थ वीर अस्पतालको ट्रमा सेन्टर भर्ना गरिएको छ । यस घटनापछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । हक्की स्वभावका खडकालाई गाउँपालिकाकै केही ब्यक्तिहरुले भौतिक सफाया गर्न योजना बनाएको तथ्य खुलेपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो ।