जनता टाइम्स

२४ श्रावण २०७६, शुक्रबार १८:०४

म अर्धपागल भन्दै प्रचण्डले खोले आफ्नै रहष्य


काठमाडौं, साउन २४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले अहिलेसम्म आफूले हिंसा नगरेको बताउनुभएको छ । जनयुद्धको नेतृत्वकर्तासमेत रहनुभएका अध्यक्ष प्रचण्डले सो दावी गर्नुभएको हो ।

नेकपाका नेता दीनानाथ शर्माको ‘झरीका सौन्दर्य’ नामक निबन्धसङ्ग्रह विमोचन कार्यक्रमलाई आज सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अहिलेसम्म हिंसा नगरेको र हिंसा नबेहोरेको बताउनु भयो । उहाँले आफूले कसैलाई एक लबटो नहानेको र कसैको एक लबटो नखाएको बताउनुभयो ।

‘मैले १० वर्षे जनयुद्धको नेतृत्व गरें, तर कसैलाई एक लबटो हानेको छैन र खाको पनि छैन,’ प्रचण्डले भन्नुभयो । उहाँले आफूले सत्य कुरा राख्दा कसैले नपत्याउने भएपनि बास्तविकता यही रहेको प्रष्ट पार्नुभयो । ‘जनयुद्धको नेतृत्व गर्ने मान्छेले यसो भन्दा को पत्याउछ र ? म व्यक्तिगत रुपमा कुनै पनि हिंसात्मक गतिविधिमा सामेल भएको छैन । तर मेरो नेतृत्वमा भएको १० वर्षे जनयुद्धले देशमा ठूलो परिवर्तन आयो, यसको जिम्मेवारी म लिन्छु,’ अध्यक्ष प्रचण्डले भन्नुभयो ।

उहाँले आफू बाहिर देखिने भन्दा फरक र भावुक रहेको खुलासा गर्नुभयो । ‘म भावुक छु, सेन्टिमेन्टल पनि छु, अरुले देखेजस्तो बिल्कुलै छैन, म बडा सरल व्यक्ति हुँ,’ प्रचण्डको भनाई थियो । अध्यक्ष प्रचण्डले आफू अर्धपागल भएर नै विद्रोहमा लागेको पनि खुलाउनु भयो । ‘मैले युवा अवस्थामा धेरै साहित्यिक पुस्तक पढें, विकृतिकै कारण विद्रोही चेत आयो,’ उहाँको भनाई थियो । उहाँले आफू विद्रोहमा अर्धपागल भएर लाग्नुमा साहित्यको देन भएको प्रष्ट पार्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले साहित्यकार अर्धपागल हुने बताएपछि प्रचण्डले सो जवाफ दिनुभएको हो । ‘साहित्यकार अर्धपागल हुन्छन् भनिन्छ’, पौडेलले भन्नुभयो, ‘प्रचण्डजी पनि क्रान्ति गरेर आउनुभयो, उहाँ पनि अर्धपागल भएरै त क्रान्ति गर्नु भएको होला नि ।’ कांग्रेस नेता पौडेलको सोही भनाइको जवाफ दिँदै अध्यक्ष प्रचण्डले आफू अर्धपागल भएर विद्रोहमा लागेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले देशको स्थिति उकास्नका लागि सबै राजनीतिक दल एकजुट भएर लाग्नु पर्नेमा पनि जोड दिनुभयो । ‘देशको अहिलेको अवस्था उकास्नका लागि सबै राजनीतिक दल एकजुट भएर अगाडि बढ्नुपर्छ, सवै मिलौं, जनताले खोजेको कुरा ल्याउन एकले अर्कोलाई आरोप लगाएर काम नगरौं,’ प्रचण्डको भनाई थियो ।