सुर्खेत, २ पुस । ५० शय्या विस्तारसँगै मेहलकुना अस्पतालका लागि ६ वर्षअघि नयाँ भवन निर्माण सुरु गरिएको थियो । तत्कालिन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र एनके लोहनी केएसके जेभी निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएर भवन निर्माण थालिए पनि अहिलेसम्म पनि पुरा भएको छैन ।
आव २०७३/०७४ मा २८ करोड लागत अनुमान गरिए पनि निर्माण कम्पनीले २१ करोड १६ लाखमा ठेक्का सम्झौता गरेको थियो । कम रकममा सम्झौता गरेकै कारण भवन निर्माण ढिला भएको स्थानीयको आरोप छ। तीन वर्षमा सक्ने सम्झौता भए पनि हालसम्म ६० प्रतिशत मात्रै प्रगति भएको अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी कमल सुवेदीका अनुसार तत्कालीन सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय र निर्माण कम्पनीबीच ठेक्का सम्झौता भएको हो । आव २०७६/७७ मा भवन निर्माण सक्ने लक्ष्य लिए पनि अझै ४० प्रतिशत काम बाँकी नै छ । गुर्भाकोट नगरपालिकास्थित मेहलकुनामा निर्माणाधीन अस्पताल भवनका पाँच ब्लक छन् ।
समयमै निर्माण नसकिँदा चौतर्फी आलोचना र गुनासो बढिको छ । भवन नहुँदा सेवा प्रवाहमा समेत समस्या भइरहेको अस्पताल व्यवस्थापन समितिका सदस्य बृखबहादुर नेपालीले बताउनुभयो । उहाँले पटक–पटक ताकेता र समन्वय गर्दासमेत निर्माण व्यवसायी काममा नफर्किएपछि भवन निर्माण अलपत्र परेको बताउनुभयो ।
सदस्य नेपालीले भन्नुभयो, ‘ठेकेदारले पर्याप्त मात्रामा मजदुर परिचालन गर्न र निर्माण सामग्री जुटाउन नसक्दा भवन निर्माणमा ढिलाइ भएको हो, करोडौँको योजनामा झारा टार्ने शैलीमा काम भइरहेको छ ।’ ५० शय्या क्षमता भए पनि २२ शय्याको अस्थायी संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य भएको सदस्य नेपालीले बताउनुभयो । सरकारले मेहलकुना अस्पताललाई १५ जेठ ०७३ मा १५ शय्याबाट ५० शय्यामा विस्तार गरेको थियो ।
अब पनि ढिला गरे ठेक्का सम्झौता तोड्नका लागि प्रक्रिया अगाडि बढ्ने सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइका प्रमुख अमरबहादुर थापाले बताउनुभयो । तोकेको काम पूरा नभए निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने र धरौटी जफत गरी क्षतिपूर्ति समेत भराउने गरी कारबाही प्रक्रिया अघि बढ्ने प्रमुख थापाले बताउनुभयो ।














प्रतिक्रिया दिनुहोस्