जनता टाइम्स

२५ श्रावण २०७६, शनिबार ०७:५०

महेश बस्नेतको ठोकुवा : भक्तपुरको विकास चौका छक्का जसरी तीव्र गतिका साथ अघि बढ्यो


भक्तपुर, साउन २५ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विगतमा भक्तपुरका जनप्रतिनिधिले ध्यान नदिँदा पछि परेको बताउँदै वर्तमान समयमा निर्वाचित जनप्रतिनिधिले जनताको चाहना र आवश्यकतालाई मध्यनजर गरी भक्तपुरको विकास तीव्र गतिका साथ अघि बढाएको बताउनुभएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं ७ स्थित घ्याम्पेडाँडामा निर्माण गरिएको सहरी स्वास्थ्य केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै सांसद बस्नेतले आगामी दिनमा धार्मिक, सांस्कृतिक, पर्यटकियलगायतका कार्यहरुले देशकै गन्तव्यको रुपमा स्थापीत हुने बताउनुभयो । ‘भक्तपुरको विकास एक एक रनका दरले मात्र हैन, चौका र छक्काका दरले तिव्र गतिका साथ अघि बढ्यो,’ बस्नेतले भन्नुभयो ।

भक्तपुरको घ्याम्पेडाँडाले विगतमा दुर्गम क्षेत्रको रुपमा परिचय पाएको तर आगामी दिनमा विकसित तथा पर्यटकीय क्षेत्रको रुपमा परिचय पाउने बताउँदै उहाँले घ्याम्पेडाँडा राजधानीकै एउटा महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा परिचित हुँदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाल सरकारले १०० वटा गन्तव्य तोक्ने क्रममा साँगा, घ्याम्पेडाँडा, नैचाल, अनन्तलिङ्गेश्वर एरियालाई नयाँ गन्तव्य स्थलको रुपमा तोकिएको छ । अब देशकै महत्वपूर्ण गन्तव्यको रुपमा घ्याम्पेडाँडाको परिचय स्थापीत हुँदै गएको छ । यहाँबाट २२ वटा भन्दा बढी हिमालहरु देखिने, उपत्यकाका तीनवटै सहरहरु देखिन्छ ।’

घ्याम्पेडाँडा प्राणी उद्यान केन्द्रको शिरमा रहेकोले आफैमा पर्यटकीय क्षेत्रको रुपमा भएको बताउँदै उहाँले उक्त स्थान काभ्रे प्रवेश गर्ने महत्वपूर्ण नाका समेत भएको बताउनुभयो । घ्याम्पेडाँडामा सरकारी तथा नीजि क्षेत्रको विशेष चासोका साथ अघि बढेकाले आगामी दिनमा उक्त स्थान भक्तपुरको आर्थिक समृद्धिको आधार हुने समेत उहाँले बताउनुभयो । उक्त स्थानमा प्याराग्लाइडिङ, जिप राइडिङ लगायतका पर्यटकिय आकर्षणका कार्यहरु शुरुवात भइसकेको जानकारी गराउँदै उहाँले पर्यटन मन्त्रालयले स्वीकृत दिएपछि प्याराग्लाईडिङको औपचारीक सुरुवात हुने समेत बताउनुभयो ।

भक्तपुरलाई स्वास्थ्य क्षेत्रको हबको रुपमा विकास गर्ने लक्ष्य प्रस्तुत गर्दै पूर्वमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने प्रकृया अघि बढिरहेको बताउनुभयो । भक्तपुरमा मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुर अस्पताल, क्यान्सर अस्पताल, क्षयरोगलगायतका केन्द्रीय स्तरका अस्पतालहरु रहेको जिल्ला भएको बताउँदै उहाँले भक्तपुरमा नै विभिन्न प्रकारका स्वास्थ्यसँग सम्बन्धीत कोर्षहरुको पढाइ हुने स्थलको रुपमा विकास गर्ने बताउनुभयो । उहाँले उक्त स्वास्थ्य केन्द्रले व्यवस्थित तथा प्रभावकारी ढंगले सेवा सञ्चालन गर्नेमा विश्वस्त रहेको समेत बताउनुभयो ।

पाण्डुबजार, चुनदेवी क्षेत्रमा नयाँ ठमेलको रुपमा विकास गराउने बताउँदै उहाँले निलवाराहीमा जातीय पार्क÷संग्राहलय स्थापना गर्ने प्रकृया अघि बढेको समेत जानकारी गराउनुभयो । उहाँले भक्तपुरमा भइरहेको दिन प्रतिदिनको विकासलाई दिगो र प्रभावकारी बनाउने जिम्मा आम जनप्रतिनिधि तथा नागरिकको भएको समेत बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख बाशुदेव थापा, उपप्रमुख जुनादेवी वस्नेत, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, वडा नं ८ का वडाध्यक्ष किरण थापा, ७ नं का वडाध्यक्ष रविन्द्र सापकोटालगायतका स्थानीयवासीको उपस्थिती रहेको थियो ।