जनता टाइम्स

२६ श्रावण २०७६, आईतवार १३:२४

काठमाडौं महानगरवासीसँग मेयर शाक्यको अपिल : तपाइँ जानकारी दिनोस, हामी सम्पदा बनाइ दिन्छौँ


काठमाडौँ, साउन २६ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरभित्रका सवै सम्पदा जानकारी आउनसाथ निर्माण गर्ने घोषणा गर्नुभएको छ । लमहानगरभित्र कहीं पनि कुनै बहाः, बही, मन्दिर, पाटी, पौवा जस्ता सम्पदा बनाउनु पर्ने भए त्यसको जानकारी आउनसाथ महानगरपालिकाले तत्काल बनाउने घोषणा मेयर शाक्यले गर्नुभएको हो ।

काठमाडौं महानगरपालिका जनताले तिरेको करबाटै चल्ने निकाय भएकोले जनताका सार्वजनिक सम्पत्तिहरू पुनर्निर्माण एवं संरक्षण गर्नु नै यसको प्रमुख दायित्व भएको पनि उहाँले बताउनुभयो । हाल विवादमा आएको गुठी विधेयक सरकारले फिर्ता लिईसकेको अवस्थामा अब आफ्नो लागि कस्तो व्यवस्था सहितको विधेयक चाहिने हो ? त्यसको स्पष्ट अवधारणा सम्बद्ध गुठियारहरूले तयार गर्नुपर्ने धारणासमेत मेयर शाक्यले राख्नुभयो । गुथी विधेयकबारे सम्बद्ध गुठियारहरूले तयार गरेको अवधारणालाई सरकार समक्ष पुर्याउने समन्वयकारी भूमिका आफूले खेल्ने पनि उहाँले बताउनुभयो ।

नेपाल खड्गी सेवा समितिले आयोजना गरेको गुठी विधेयक सम्बन्धी अन्तक्र्रिया कार्यक्रममा बोल्नुहुँदै मेयर शाक्यले उक्त कुरा बताउनुभएको हो । कार्यक्रममा कामपा सम्पदा तथा पर्यटन समितिका संयोजक एवं १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जनले अहिले काठमाडौं महानगरपालिका आफू मातहतका सम्पदाहरू पुनर्निर्माण गर्न खोजी खोजी लागिरहेकोले यसमा सहयोग गर्न सबैलाई अपील गर्नुभयो । नेपाल खड्गी सेवा समितिकी अध्यक्ष अंजिता खड्गीले खड्गी समुदायले मनाउँदै आएका जात्रा पर्वहरू मनाउन, सम्पदाहरू पुनर्निर्माण गर्न तथा विभिन्न खड्गी गुठीलाई बाजागाजा उपलब्ध गराउन मनपालाई अनुरोध गर्नुभयो ।

समितिका पूर्व अध्यक्ष एवं वर्तमान संरक्षक मनोज नेवाः खड्गीले यति बेला मुलुकमा नेवाः समुदायको पीर मर्का बुझ्ने अर्को कुनै निकाय नभएको कारणले नेवाः समुदायले अब काठमाडौं महानगरपालिका मार्फत नै आफ्नो कुरा राज्य समक्ष पुर्याउनु उपयुक्त हुने बिचार राख्नुभयो । उहाँले गत वर्ष काठमाडौं महानगरपालिकाले खड्गी समुदायका बाजा गुरहरुलाई समेत सम्मान गरेकोमा मेयर शाक्यलाई धन्यवाद पनि दिनुभयो ।