जनता टाइम्स

२६ श्रावण २०७६, आईतवार १३:२९

भक्तपुरमा एकैचोटि ठोक्कियो चार वटा बस, १६ यात्रु घाइते


भक्तपुर, साउन २६ । भक्तपुरको मध्यपुरठिमी नगरपालिकास्थित गठ्ठाघरको आकाशेपुलमुनि एकै पटक चार वटा बस एकआपसमा ठोक्किएका छन । एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई ठक्कर दिँदा १६ जना व्यक्ति घाइते भएका छन्।

काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा४ख ५७९४ नम्बरको बसले अनियन्त्रित भएर सेही दिशातर्फ गइरहेका अन्य तीन वटा बसलाई ठक्कर दिएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उक्त बसले आइतबार बिहान बा३ख ७०९३, बा५ख ४०२९ र ना६ख ७१२५ नम्बरको बसलाई ठक्कर दिएको हो। ठक्कर दिँदा तीन वटै बसका यात्रुहरू सामान्य घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको नागरिक अस्पताल र तीन जनालाई मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ठक्कर दिने बसका चालक सिन्धुली गोलानचोर गाउँपालिका वडा नम्बर ६ निवासी दीपकराज ठकुरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।