जनता टाइम्स

२६ श्रावण २०७६, आईतवार १८:०६

न्यूरोडमा दिनदहाडै सांसद नै लुटिएपछि…


काठमाडौं, साउन २६ । राजधानीको अति ब्यस्त र सुरक्षित शहरका रुपमा परिचित न्यूरोडमा सांसद नै लुटपाटको शिकार हुनुपरेको छ । व्यक्तिगत कामको सिलसिलामा न्युरोड पुग्नुभएका प्रदेश नं ३ की प्रदेशसभा सांसद भावना सुवेदीको पर्स आज दिउसै न्यूरोडमा लुटिएको छ।

न्युरोडको भीडभाडमा अज्ञात व्यक्तिले आज अपरान्ह ब्यागमा रहेको पर्स लुटेको सांसद सुवेदीले बताउनुभयो । ‘भीड छिचोल्दै थियौं, पर्स लुटिएको पत्तै पाइएन, कतिबेला लुटियो भन्ने पनि यकिन भएन,’ सांसद सुवेदीले भन्नुभयो ।

सुवेदीको पर्समा सात हजार रुपैयाँ र केही महत्वपूर्ण सामानहरू रहेको बताउनु भयो । सांसद सुवेदीका अनुसार ब्यागमा बैंकको एटिएम कार्ड, सांसद परिचय पत्र लगायतका सामाग्री रहेको थियो ।

प्रदेशसभामा चितवनबाट प्रतिनिधित्व गर्नुभएकी सांसद सुवेदीले प्रहरीमा भने निकै ढिला मात्रै उजुरी गर्नुभएको छ । बैंकको एटिएम कार्ड दुरुपयोग हुनसक्ने भएकोले पहिला बैंकतर्फ जाँदा प्रहरीमा उजुरी गर्न ढिलाई भएको उहाँको भनाई छ ।