जनता टाइम्स

२६ श्रावण २०७६, आईतवार २१:०१

ठुलो दुर्घटनाबाट बच्यो पृथ्वी, छेउबाटै गयो आकाशीय पिण्ड


काठमाडौं, साउन २६

सय तलाको भवनभन्दा ठूलो एउटा आकशीय पिण्ड पृथ्वीको नजिकैबाट गएको छ । पृथ्वीमा लगभग ठोकिन लागेको सो पिण्ड आइफल टावरभन्दा ठूलो थियो ।

१० हजार ४ सय माइल प्रति घण्टाको दरले अन्तरिक्षमा घुमिरहेको उक्त आकशीय पिण्ड शनिबार पृथ्वी नजिकैबाट गएको हो । पृथ्वीदेखि ४.६ मिलियन माइलको दूरीमा हुँदै उक्त पिण्ड आफ्नो कक्षमा गएको थियो। यो ४.६ मिलियन माइल दूरी अन्तरिक्षमा धेरै नजिकको हो । भिडियो फुटेजमा १.८६० किलोमिटर व्यास भएको उक्त आकशीय पीण्ड पृथ्वीको नजिक हुँदै गएको थियो । यो आकशीय पिण्डको नाम २००६ क्यूक्यू२३ रहेको छ । सन् २००६ को अगस्टमा यो पिण्डको पहिचान भएको थियो ।

यो घटनापछि विश्वका वैज्ञानिकहरुले पृथ्वी धेरै ठूलो दुर्घटनाबाट जोगिएको बताएका छन् । उनिहरुले यदि उक्त आकशीय पिण्ड पृथ्वीमा ठोक्किएको भए त्यसको प्रभाव कुनै आणविक बमभन्दा ५ सय गुणा बढीले हुने द सन्डे एक्सप्रेसले उल्लेख गरेको छ । अमेरिकी अन्तरिक्ष संस्था (नासा)का अनुसार उक्त पिण्ड पृथ्वीमा खस्दा एउटा सहरलाई पुरै ध्वस्त पारिदिन्थ्य । यसको असरले कम्तीमा १३ लाख मानिसहरुको ज्यान जान सक्ने नासाले उल्लेख गरेको छ ।

नासाका निर्देशकसमेत रहेका जिम ब्रिडेन्साटाइनले यस्ता आकशीय पिण्ड पृथ्वीमा खस्न सक्ने खतराहरुको बारेमा यसअघि नै आफूहरुले सचेत गराएको बताएका छन् । आकशीय पिण्डहरु पृथ्वीमा ठोक्किँदा प्रलय गएको इतिहास छ । ६ करोड ६० लाख वर्ष अघि आकशीय पिण्ड खसेकै कारण पृथ्वीमा महाप्रलय गएको थियो । जसका कारण डाइनोसोर जस्ता जीवहरु हराएर गएका थिए । आकशीय पिण्ड पृथ्वीमा ठोक्किन सक्ने जोखिमलाई मध्यनजर गर्दै नासाले पछिल्लो समयअनुसन्धान गरिरहेको छ।