जनता टाइम्स

२७ श्रावण २०७६, सोमबार ०७:२५

बकर इदले नेपाली समाजमा आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धि गर्नेमा राष्ट्रपति भण्डारी बिश्वस्थ


काठमाडौं साउन २७ । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा सांस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराहरूको संरक्षण तथा सम्बद्र्धनले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताउनुभएको छ ।

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद (इदुल जोहा) का अवसरमा मुस्लिम समुदायमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले परम्पराहरूको संरक्षणले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्न गई समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय सङ्कल्प हासिल गर्न मद्दत पुग्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभएको छ ।

यस अवसरमा राष्ट्रपति भण्डारीले इस्लाम धर्मावलम्बीहरूको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना पनि गर्नुभएको छ । उहाँले यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व अभिवृद्धि गरी मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा योगदान पुर्याउने विश्वास पनि लिनुभएको छ ।