जनता टाइम्स

१८ पुष २०७९, सोमबार १६:४८

फार वेष्ट सस्तैमा समेटिदा जनकपुरले दर्ज गर्यो पाँचौ जित


काठमाडौं, १८ पुस । नेपाल टी–ट्वान्टी लिगमा फार वेस्ट युनाईटेडलाई जनकपुर रोयल्सले पराजित गरेको छ । टियु मैदानमा सोमबार भएको खेलमा जनकपुरले फार वेस्टलाई ८२ रनले हराएको हो । जनकपुरले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको फार वेस्टले १५.१ ओभरमा अलआउट हुँदै ७९ रन मात्र बनाउन सफल भयो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुर रोयल्सले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो । फार वेस्टका लागि कप्तान हजमतुल्लाह शाहिदीले ३२ तथा राशिद खानले अविजित १७ रन बनाए । जनकपुरका लागि समिउल्लाह शिनवारीले ३ तथा सोमपाल कामी र पवन सराफले २र२ विकेट लिए ।

जनकपुरका लागि सन्दिप जोराले ३२ बलमा ५५ रनको अर्धशतकीय ईनिङ खेले । उनले १ चौका र ५ छक्का प्रहार गरे। कप्तान ट्राभोन ग्रिफिथले ३२ रन बनाउँदा चाल्डिक वाल्टन २४ रनमा आउट भए । सरफुदिन असरफले २० रन बनाउँदा राजेश पुलामीले १६ रन बनाए ।

फार वेस्टका लागि प्रकाश जैसीले ३ तथा भुवन कार्कीले २ विकेट लिए । सात खेलमा पाँच जित र दुई हार सहित जनकपुर १० अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । छ खेलमा एक जित हात पारेको फार वेस्ट २ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ ।

यही संस्करणको पहिलो भेटमा फार वेस्ट जनकपुरसँग पराजित भएको थियो । यस प्रतियोगिताको फाईनल खेल २७ गते हुनेछ । डबल राउण्डमा हुने यस लिगमा ३४ खेल हुनेछ । यस लिगको विजेताले ५५ लाख पाउने जनाएको छ ।

यस्तै उपविजेताले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा तेस्रो हुनले १० लाख र चौंथोले ५ लाख पाउने छ । त्यस्तै प्लेयर अफ द सिरिजले ५ लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याटरले २ लाख ५० हजार पाउने छन् । इमर्जिङ प्लेयरले १ लाख ८० हजार पाउने छ । पहिलो संस्करणको लिगमा ६ टोलीको सहभागिता रहेको छ ।

यस लिगमा काठमाडौं नाइट,पोखरा एभेन्जर्स,फार वेस्ट युनाईटेड,जनकपुर रोयल्स,विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार रहेका छन् ।