जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार ०६:०६

सर्यो नेकपाको सचिवालय बैठक, यस्तो छ कारण


काठमाडौं, साउन २८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बोलाइएको सचिवालय बैठक स्थगित भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले गृहकार्य नपुगेको भन्दै भोलि बस्ने गरी आजको बैठक स्थगित गर्नुभएको हो ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओली सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराएर हिजो मात्रै स्वदेश फर्कनुभएको थियो । प्रधानमन्त्री ओली स्वदेश फर्किएलगत्तै हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । उहाँहरुबीच उपचारबाट फर्किएका प्रधानमन्त्रीसमेत रहेका ओलीको स्वास्थ्य अवस्था, समसामयिक राजनीतिक विषयबस्तु र पार्टीको सचिवालय बैठक लगायतका विषयमा छलफल भएको थियो ।

अध्यक्षद्वयको भेटवार्ताका आधारमा आजका लागि तय भएको सचिवालय बैठक भोलि बुधबारका लागि सारिएको हो । कार्यबिभाजनको सन्दर्भमा अध्यक्षद्वय ओली प्रचण्डबीच आज पनि छलफल हुने भएको छ । नेकपाको गत साउन १३ गते बसेको सचिवालय बैठकले पार्टी एकताको अन्तिम टुंगो लगाउन आजका लागि बैठक तोकेको थियो भने कार्यबिभाजनका सन्दर्भमा नेताहरुको इच्छा बुझ्न महासचिव बिष्णु पौडेललाई जिम्मा दिएको थियो ।

महासचिव पौडेलले सवै नेताहरुको इच्छा बुझेर प्रतिवेदन तयार पार्नुभए पनि अध्यक्ष ओली हिजो मात्रै स्वदेश फर्कनुभएको कारण बैठक भोलि सारिएको हो । जिम्मेवारी बाँडफाँटका लागि महासचिव पौडेलले जिम्मेवारी नपाएका नेतासँग इच्छा बुझेर प्रतिवेदन तयार गरिसक्नुभएको छ । ४४१ सदस्यीय केन्द्रीय कमिटीमा जिम्मेवारी नपाएका सबैको इच्छा बुझेर प्रतिवेदन तयार पारिएको हो । रुची र दक्षताबारे सोधेर आफूले प्रतिवेदन तयार पारिएको जानकारी महासचिव महासचिव पौडेलले बताउनुभयो ।

विवादमा रहेको स्कुल विभागमा स्थायी कमिटीका आधा दर्जन सदस्यले दाबी पेश गरेका छन् । दाबी गर्ने नेताहरुमा युवराज ज्ञवाली, घनश्याम भुसाल, देवेन्द्र पौडेल, बेदुराम भुसाल, राम कार्कीलगायत रहनुभएको छ । महासचिवसँग विभागको प्रमुख, भूगोलको जिम्मेवारी र काठमाडौं केन्द्रित जिम्मेवारीको इच्छा धेरै नेताले गरेका छन् । तर केहीले भने पार्टीको आवश्यकता अनुसारको जिम्मेवारी दिन आग्रह गरेका छन् । नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटीमा प्रदेश पदाधिकारीमा २८, जिल्ला इन्चार्जमा ८३, जिल्ला सहइन्चार्जमा १५२, जिल्ला अध्यक्षमा चार र जिल्ला सचिवमा दुई जना गरी २७२ जनाले भौगोलिक जिम्मेवारी प्राप्त गरिसकेका छन् ।

अध्यक्ष र महासचिवबाहेक १६६ जना नेताको कार्यविभाजन हुन बाँकी छ । ती नेताहरुलाई विभिन्न विभाग, प्रतिष्ठान, विशेष कमिटी, जनवर्गीय संगठनको इन्चार्ज लगायतका जिम्मेवारी दिने तयारी छ ।