जनता टाइम्स

२४ पुष २०७९, आईतवार ०७:०७

पोखराको पराजय हुँदा काठमाडौं प्लेअफमा


काठमाडौं, २४ पुस । काठमाडौं नाइट्स नेपाल टी–२० क्रिकेट लिगको प्लेअफमा पुगेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको दोस्रो खेलमा फार वेस्ट युनाइटेडले पोखरा एभेन्जर्सलाई ४१ रनले हराएपछि काठमाडौंं प्लेअफमा पुगेको हो ।

काठमाडौं तालिकाको चौथो स्थानमा रह्यो । हारसँगै पोखरा प्रतियोगिताबाट बाहिरिएको छ । फार वेस्ट यसअघिनै बाहिरी सकेको थियो । फार वेस्टले दिएको एक सय ८८ रनको विजय लक्ष्य पछ्याएको पोखराले १८।१ ओभरमा सबै विकेटको क्षतिमा एक सय ४६ रन मात्र बनाउन सक्यो ।

पोखराका लागि कप्तान उपुल थरंगाले ३६ रन बनाउनुभयो । प्रतिश जिशीले ३४, सिद्धान्त लोहनीले २८ र सुमित महर्जनले १४ बनाउनुभयो । बलिङमा फार वेस्टका लागि दुर्गेश गुप्ता र कप्तान हशमतुल्लाह शाहिदीले दुई दुई विकेट लिनुभयो । करण केसी र प्रकाश जैशीले एक एक विकेट लिनुभयो । यसअघि पहिले ब्याटिङ गरेको फार वेस्टले २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ८८ रन बनाएको थियो ।

फार वेस्टका कप्तान शाहिदीले ६७ रन बनाउनुभयो । विनोद भण्डारीले ५९, राशिद खानले १४ र करण केसीले अविजित ११ रन बनाउनुभयो । बलिङ पोखराका लागि अभिमन्यु मिथुनले दुई तथा प्रतिश जिशीले एक विकेट लिनुभयो ।

यससँगै लिगको प्लेअफ समीकरण पूरा भएको छ । लुम्बिनी अल स्टार, जनकपुर रोयल्स र विराटनगर सुपर किंग्सले यसअघिनै प्लेअफमा स्थान बनाइसकेका छन् । पुस २७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले ५५ लाख र उपविजेताले ३० लाख रुपियाँ पुरस्कार पाउनेछन् ।