जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार १८:०३

घुस लिँदै गरेका वडाध्यक्ष र सदस्यसहित तीन जना भ्रष्टाचारी अख्तियारको नियन्त्रणमा


काठमाडौं, साउन २८ । महोत्तरी जिल्ला भँगाहा नगरपालिकाका एक वडाध्यक्षलाई घुसको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । भँगाहा नगरपालिका– ८ का वडा अध्यक्ष मो.रफिक आलमसहित तीन जनालाई १ लाख ६० हजार घुसको रकम लिईसकेको अवस्थामा पक्राउ गरेको हो ।

सेवाग्राहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी लिन सहज गराई दिए बापत उनले घुसको रकम लिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिनुभयो । वडाका सदस्य कारी साह जमानीबसी वडा सदस्यको छोरा मुकेश साहले १ लाख ६० हजार रकम लिईसकेको अवस्थामा जनकपुर उप–महानगरपालिका–९ पिडारीचोक स्थित राष्ट्रिय वाणिज्य बैंक प्रवेशद्वारबाट रङ्गेहात नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । मुकेशलाई पक्राउ गरेपछि वडाध्यक्ष र सदस्यलाई पनि पक्राउ गरिएको अख्तियारद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

प्रेस विज्ञप्ति :- मिति २०७६।०४।२८ गते
——————————————-

जिल्ला महोत्तरी भँगाहा नगरपालिका वडा नं.- ८ का वडा अध्यक्ष मो.रफिक आलम समेत ३ जनालाई घुस रकम सहित नियन्त्रणमा लिइएको ।
———————-
जिल्ला महोत्तरी भँगाहा नगरपालिका वडा नं.- ८ का वडा अध्यक्ष मो.रफिक आलमले सेवाग्राहीसँग योजना सम्पन्न भएको सिफारिस गरेको र रकम भुक्तानी लिन सहज गराई दिए बापत घुस/रिसवत माग गरिरहेकोमा उक्त घुस /रिसवत असुल गराउने ऐ वडाका सदस्य कारी साह जमानी जिम्मा बसी वडा सदस्यको छोरा मुकेश साहलाई घुस रिसवत लिन पठाउँदैछ भन्ने प्राप्त उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज मुकेश साहलाई सेवाग्राहीसँग रू.१,६०,०००।–(एक लाख साठी हजार) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त घुसवापतको रकम सहित जनकपुर उप-महानगरपालिका वडा नं.-९ पिडारीचोक स्थित राष्ट्रिय वाणिज्य बैंक प्रवेशद्वारबाट रङ्गेहात नियन्त्रणमा लिई सोधपुछ गरी भँगाहा नगरपालिका वडा नं.-२ स्थित सितापुर चोकबाट वडा अध्यक्ष मो.रफिक आलम र वडा सदस्य कारी साहलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ  ।

प्रदीपकुमार कोइराला
प्रवक्ता