जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार १८:३१

सहकारीमा मौलाएको बिकृतिलाई नियन्त्रण नगरे ठूलो समस्या आउँछ : मन्त्री अर्याल


काठमाडौं, साउन २८ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले वित्तीय संस्थामा मौलाउँदै गरेको विकृति नियन्त्रण गर्ने दिशातर्फ जानुपर्ने बताउनुभएको छ । स्वावलम्बन विकास केन्द्रको २८ औँ वार्षिकोत्सव तथा उद्यमशीलता विकास पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री अर्यालले लघुवित्त संस्था र सहकारीको प्रकृति उस्ताउस्तै भएकाले सहकारीको विकृतिलाई नियन्त्रण गरिने बताउनुभयो ।

‘सहकारी संस्था ठूलो भएपछि मानसिकताहरु विकृति बन्न थालेका छन, संस्थालाई पारदर्शी बनाउने र मौलाउँदै गरेको विकृति नियन्त्रण गर्ने दिशामा हामी जानुपर्छ,’ मन्त्री अर्यालले भन्नुभयो । सरकारले अहिले सहकारीको समस्या समाधान गर्न लागिरहेको उल्लेख गर्दै उहाँले सहकारीलाई बेलैमा नियन्त्रण नगरिए पछि समस्या बिकराल बन्ने चेतावनी पनि दिनुभयो ।

‘सहकारीलाई अब साँच्चिकै नियन्त्रण नगर्ने हो भने दुई वर्षपछि झनै समस्या आउँछ,’ मन्त्री अर्यालले भन्नुभयो, ‘सहकारी नियमावलीमार्फत सहकारीमा फैलिएको बिकृतिलाई नियन्त्रण गर्ने प्रयासमा छौँ ।’ मन्त्री अर्यालले एउटा मान्छे धेरै संस्थामा बस्ने समस्या रहेकाले अब त्यो अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले सहकारी कर्जा कोष सञ्चालन गरिसकेकाले सहकारी क्षेत्रका विकृतिलाई नियन्त्रण गर्न सहयोग पुग्नेमा जोड दिनुभयो ।

भूमी ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले अहिले गरीब पहिचानको काम गरिरहेको जानकारी गराउँदै उहाँले गरीब पहिचानमा पनि प्रविधिको प्रयोग गरेर समस्या उत्पन्न नहुने गरी काम सम्पन्न गरिने जानकारी दिनुभयो । सो अवसरमा मन्त्री अर्यालले काभ्रेको मानसी लघुवित्त वित्तीय संस्थालाई एक लाख रुपैयाँसहित यस वर्षको लघु उद्यमशीलता विकास पुरस्कार प्रदान गर्नुभएको थियो ।