जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार १९:२७

कात्तिक १० गतेदेखि काठमाडौं–बेइजिङ सिधा उडान, बुकिङ खुल्यो


काठमाडौं, साउन २८

कात्तिक देखि बेइजिङ–काठमाडौं सिधा उडान शुरु हुने भएको छ । राजधानी बेइजिङस्थित नवनिर्मित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘तासिङ अन्तर्राष्ट्रिय विमानस्थल’ असोज १३ देखि संचालनमा आउने भएपछि सो विमानस्थल प्रयोग गर्ने उडानहरूको धमाधम टिकट बिक्री सुरु भएको छ।

तासिङ विमानस्थलबाट आन्तरिक उडान र बाह्य अन्तर्गत काठमाडौं, लण्डन, फिनल्याण्डको हेलसिन्की, मोरोक्कोको कासाब्लांका र जापानको फुकुओकाका लागि टिकट बुकिङ खुल्ला भएको हो । अग्रिम टिकट बुकिङको जिम्मा पाएको चीनकै विश्वसनीय ‘छ्वी नार्’ ट्राभल अनलाइन कम्पनीले बिक्री गर्ने टिकटमा बेइजिङदेखि काठमाडौंसम्मको यो उडानमा कहीँ कतै ट्रान्जिट भएको नदेखिएपछि सिधा उडान हुन लागेको पुष्टी हुन्छ ।

सो अनलाइनको तालिका अनुसार तासिङ विमानस्थलदेखि काठमाडौंसम्मको सिधा उडान अक्टुबर २७ अर्थात् कात्तिक १० गतेदेखि हुनेछ। ‘छ्वी नार’को एपमा चिनियाँ भाषामा हिमालय एयरलाइन्स, उडान अवधि ५ घण्टा ३५ मिनेट, उडान समय बेइजिङ समयअनुसार साँझ १७.४० बजे, विमानस्थलः तासिङ भनेर उल्लेख गरिएको छ । उडान गर्ने विमानमा नेपाल–चीन संयुक्त लगानीमा संचालित हिमालय एयरलाइन्स भनिएको छ। हिमालय एयरलाइन्सले सीधा उडानका सम्बन्धमा आधिकारिक जानकारी दिइसकेको छैन ।