जनता टाइम्स

२८ श्रावण २०७६, मंगलवार २०:०१

मेयर बिद्यासुन्दर शाक्यको घोषणा : सम्पदा निर्माणको योजना लिएर आउनोस, बजेट अभाव हुन दिन्न


काठमाडौं, साउन २८ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भिजिट नेपाल २०२० लाई मध्यनजर गर्दै महानगरपालिकाले सम्पदा पुनर्निर्माणको कामलाई तिव्रता दिएको बताउनु भएको छ ।

राजकीर्ति महाविहार (टेवाहाल) भित्र रहेको अक्षभ्य तथागतको मन्दिर पुनर्निर्माण सम्पन्न भएको अवसरमा आज आयोजित कार्यक्रममा सम्वोधन गर्दै मेयर शाक्यले सो जानकारी दिनुभएको हो । ‘यतिबेला काठमाडौं महानगरपालिकाको ध्यान भिजिट नेपाल २०२० तर्फ केन्द्रित भएको छ,’ मेयर शाक्यले भन्नुभयो, ‘हामी अहिले त्यसैलाई केन्द्रित गरेर महानगरपालिकाभित्रका सम्पदा पुनर्निर्माण गर्ने, हरियाली प्रवद्र्धन गर्ने जस्ता कार्यमा लागेका छौँ । यो मन्दिर निर्माण पनि त्यसैको एउटा उदाहरण हो ।’

उहाँले भिजिट नेपाल २०२० मा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न पनि महानगरपालिकाले केही बढी मेहनत गर्नु पर्ने भन्दै सबै जनप्रतिनिधिलाई पनि एकाकार भएर अघि बढ्न आग्रह गर्नुभयो । ‘न्युरोड काठमाडौंको पनि केन्द्रभागमा अवस्थित छ,’ उहाँले भन्नुभयो, ‘विश्व सम्पदा सूचिमा सुचिकृत क्षेत्रको आसपासमा रहेको न्युरोडलाई हामी नमूना बनाउन चाहन्छौं । हामी त्यहीअनुसार नै काम गरिरहेका छौँ ।’ उहाँले अब टे बहालकै आगम घर र संकटा मन्दिर पुनर्निर्माण छिट्टै सम्पन्न गर्ने जानकारी दिनुभयो ।

‘सम्पदा निर्माण गर्दा जनसमुदायको पनि अपनत्व हुने गरी काम गर्नुहोस्,’ मेयर शाक्यले भन्नुभयो, ‘तपाईंहरु सम्पदा निर्माणको योजना लिएर आउनुहोस, बजेट अभाव हुन दिन्न ।’ उहाँले सम्वोधनकै क्रममा सम्पदा निर्माण एक जनाको मात्र पहलमा सम्भव नहुने भन्दै सबैको सहयोग आवश्यक रहेको प्रष्ट पार्नुभयो । महानगरपालिका भित्रका सम्पदा निर्माणमा सबैको हातेमालो आवश्यक रहने पनि उहाँले बताउनुभयो । ‘सांसद विकास कोष, प्रदेश सरकार, महानगर र वडाबाट आउने बजेट एकीकृत गरेर काम अघि बढाउने हो भने धेरै काम गर्न सकिन्छ,’ उहाँले भन्नुभयो, ‘अन्य ठाउँमा सम्पदा पुनर्निर्माणमा पनि तपाईंहरु जुट्नुहोस । म सहयोग गर्न तयार छु ।’

काठमाडौँ क्षेत्र नम्बर ९ का संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रेदश सांसद डाक्टर अजयक्रान्ति शाक्य, क्षेत्र नम्बर ८ का प्रदेश सांसद राजेशकाजी श्रेष्ठलगायतको उपस्थिति रहेको सो कार्यक्रममा काठमाडौं महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेत, श्री संकटा संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष चक्रेश्वर मोतिकाजी बज्राचार्यलगायतले पनि सम्वोधन गर्नुभएको थियो ।

मन्दिर काठमाडौँ महानगरपालिकाको २२ लाख २४ हजार ९ सय ४६, सांसद विकास कोषको ८ लाख ११ हजार ९ सय ४० र उपभोक्ता समितिको ३६ लाख ६७ हजार ४ सय २ रुपैयाँ सहयोगमा निर्माण भएको हो । मन्दिरको डिजाइन काठमाडौं महानगरपालिका सहरी योजना आयोगले तयार पारेको थियो ।