जनता टाइम्स

२९ श्रावण २०७६, बुधबार ०८:४४

काठमाडौ महानगरमा भेटियो साढे २५ सय रोपनी सरकारी जग्गा


काठमाडौं, साउन २९

सरकारी जग्गा वर्षौ पहिलादेखी भूमाफियाको गिरोहले हिनामिना गरेको थाहा पाएपछि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेको सरकारी जग्गा खोजविन गरिरहेको छ । महानगरका अनुसार हालसम्म साढे २५ सय रोपनी जग्गा फेला परेको जनाएको छ ।

अहिलेसम्म अभिलेख राख्ने प्रचलन नरहेका कारण सरकारी जग्गा कहा कति थियो भन्ने कुनै एकिन नै थिएन । तर, काठमाडौं महानगरपालिकाले विगत ८ महिना लगाएर गरेको अनुसन्धानमा २५ सय ४८ रोपनी ७ आना १ दाम १ पैसा सार्वजनिक जग्गा फेला परेको छ । मेयर विद्यासुन्दर शाक्यले सार्वजनिक जग्गा खोज्न अभियाननै अगाडि बढाएका थिए । सो अभियानअन्तर्गत सबै वडालाई आ–आफ्नो क्षेत्रमा पर्ने सरकारी जग्गा खोजबिन गरी तंथ्याक पठाउन निर्देशन दिइएको थियो ।

वडाले पठाएका कतिपय विवरणमा सार्वजनिक जग्गामा भवनहरू बनेको, आवाससमेत रहेको उल्लेख गरी पठाएका छन् । तत्कालीन ३५ ओटा वडाले पठाएको विवरणअनुसार सरकारी जग्गामा बगर, पोखरी, पर्ति, पर्ति बाँझो, अड्डा र पार्क रहेको उल्लेख गरेका छन् । वडाले मालपोत कार्यालयबाट ल्याएको विवरण बुझाएका हुन् । जसले गर्दा कति सरकारी जग्गा मिचिएको छ भने पत्ता लगाउन भने नसकिने भएको छ । यद्यपि अहिले भएका सरकारी जग्गा भने भविष्यमा मिच्न नपाउने देखिएको छ ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार ३२ वडाको तथ्यांकअनुसार २५ सय ४८ आना सार्वजनिक जग्गा भेटिएको बताए । उनका अनुसार अहिलेसम्म ८ सय ९० किता फेला परेको छ । वडा भने पुरानै संरचनाअनुसार ३५ ओटा वडाका कित्ता पठाएका छन् । महानगरपालिका–१ मा १६ रोपनी १४ आना, २ मा १ रोपनी २ आना, ३ मा ७९ रोपनी ३ आना, ४ मा १ सय ४८ रोपनी ६ आना, ५ मा ३७ रोपनी ४ आना, ६ मा ४२ रोपनी २ आना, ७ मा १३ रोपनी ४ आना, ८ मा ७ सय ३१ रोपनी ४ आना फेला परेको छ । यसैगरी ९ मा ९५ रोपनी ९ आना, ६ रोपनी १० आना, ११ मा २९ रोपनी ४ आना , १२ मा ६० रोपनी, १३ मा ३२ रोपनी २ आना, १४ मा ६६ रोपनी ३ आना सार्वजनिक जग्गा फेला परेको कामपाले सार्वजनिक गरेको तथ्यांले देखाएको छ ।

त्यसैगरी कामपा–१५ मा ५ सय २२ रोपनी ७ आना, १६ मा ८७ रोपनी ८ आना, १७ मा १३ आना, १८ मा १५ आना, १९ मा २ रोपनी १५ आना, २० मा १३ आना, २१ मा १४ आना, २२ मा ९ रोपनी १४ आना, २३ मा ५ रोपनी ७ आना सार्वजनिक जग्गा भेटिएको छ । ३१ मा २ सय ७२ रोपनी, ३३ मा २२ रोपनी, ३४ मा ४४ रोपनी १० आना, ३५ मा २५ रोपनी ५ आना सार्वजनिक जग्गा भेटिएको छ । यीमध्ये अधिकांश खाली रहेका छन् । अधिकांश वडाबाट सार्वजनिक जग्गाको तथ्यांक आइसकेको प्रवक्ता डंगोलले जानकारी दिनुभयो । कतिपय खोला आसपासका जग्गामा विवाद देखिएकाले सो मिलाउने काम भइरहेको छ ।