जनता टाइम्स

२९ श्रावण २०७६, बुधबार ०९:२१

पार्टी एकतालाई पुर्णता दिन नेकपाको सचिवालय बैठक बस्दै, यस्तो छ योजना


काठमाडौं, साउन २९

विभाग गठनमा देखिएको सकस फुकाउन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह तीन बजे बोलाइएको बैठकमा स्कूल विभाग लगायत नेताहरुको कार्यविभाजनको टुंगो लगाउने कार्यसूची रहेको छ ।

नेकपामा स्कुल विभाग कसलाई दिने भन्नेबारेमा विवाद हुँदै आएको छ । विभागमा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित, सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल र वेदुराम भुसाललगायतको दाबी छ । स्कुल विभागको कुरा नमिल्दा नेकपाको सचिवालय बैठक पटक–पटक सर्दै आएको छ ।

अन्य विभागको अनौपचारिक टु‌गो लागे पनि पार्टी एकता भएको एक वर्ष पूरा हुँदा समेत अझै एकताको प्रक्रिया पूरा हुन सकेको छैन । अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगगठनको कमिटीलाई पूर्णता दिन बाँकी छ । यसैगरी राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग गठनको कामसमेत पूरा हुन सकेको छैन ।

आज बस्ने सचिवालय बैठकले पार्टीएकताको बाँकी कामलाई पुर्णता दिने गरी गृहकार्य अघि बढेको छ । एकतालाई अन्तिम टुंगोलगाउनु अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले लामो छलफलसमेत गर्नुभएको छ । यस्तै महासचिव बिष्णु पौडेलले नेताहरुको रुची बुझ्ने काम पनि सकाउनु भएको छ ।