जनता टाइम्स

२९ श्रावण २०७६, बुधबार १३:०१

पूर्व–पश्चिम राजमार्गमा यातायात सुचारु : अरुणखोलाको पुल भाँच्चिएपछि बनाइयो ‘डाइभर्सन’


नवलपरासी, साउन २९ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको अरुणखोला पुल भाँचिदा रोकिएका सवारी साधनलाई वैकल्पिक बाटो (डाइभर्सन) निर्माण गरी सञ्चालनमा ल्याइएको छ । अरुणखोला पुलदेखि एक किलोमिटर उत्तरतर्फ करमघारी गाउँबाट खोलामा डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार साना सवारीलाई पुलबाटै सञ्चालन गरिएको छ । ठूला सवारीका लागि भने खोलामा ‘डाइभर्सन’ निर्माण गरिएको अधिकारीले जानकारी दिनुभयो । तत्कालका लागि रोकिएका सवारी सञ्चालनमा ल्याउन पुलको उत्तरतर्फ करमघारी गाउँ नजिक खोलामा भएका खाल्डोलाई पुरेर ‘डाइभर्सन’ निर्माण गरिएको भए पनि पानी परेको खण्डमा समस्या आउने जानकारी प्रहरीले दिएको छ । पानी पर्दा खोलमा पानीको सतह बढ्ने तथा निर्माण गरिएको ‘डाइभर्सन’ बगाउन सक्ने भएकाले पुनः यातायात अवरुद्ध हुनसक्ने प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

भाँचिएको पुल मर्मतका लागि भने केही समय लाग्ने छ । पुलको तल्लो सतहबाटै मर्मत गर्नुपर्ने भएकाले तत्काल पूर्णरूपमा पुलबाट यातायात सञ्चालन गर्न केही समय लाग्ने सडक डिभिजन कार्यालयले जानकारी गराएको हो । ना६ख ४७१ नंको ट्रक आज बिहान पुलमा ठोक्किँदा पुलको एक स्थानमा क्षति पुगी करीब दुई मिटर तल भासिएकाले यातायात अवरुद्ध बनेको थियो । डाइभर्सन निर्माणसँगै अहिले रोकिएका सवारी आ–आफ्नो गन्तव्यतर्फ लागेका छन ।

पूर्वपश्चिम राजमार्गअन्र्तगत नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासीमा रहेका पुलहरु झण्डै वर्षेनीजस्तो कुनै न कुनैमा क्षति पुग्ने गरेका छन । यसबाट यात्रुहरुले समस्या झेल्ने गरेका छन्। नवलपरासीको नवलपुरअन्तर्गत पर्ने जयश्री पुल, बौलाहाखोला पुल, लोकाहा पुलमा गत वर्ष सवारीले ठक्कर दिई क्षति पुग्दा महीनौँसम्म यात्रुले सास्ती पाएका थिए।

विसं २०३० तिर निर्माण गरिएका नारायणगढ–बुटवल सडक खण्डका पुलको संरचनामा ‘ट्रस’को प्रयोग गरिएको छ । पुल निर्माण गरेको लामो समय भएकाले पुलका संरचना कमजोर बन्दै गएका हुन । सवारीसाधनले पुलमा सामान्य ठक्कर दिँदासमेत पुलको संरचनामा धेरै क्षति पुग्ने गरेको छ । अरुणखोला पुलमा पनि यही समस्या देखिएको हो ।