जनता टाइम्स

३ माघ २०७९, मंगलवार १८:५०

बलात्कार मुद्दामा पल शाहले पाए सफाइ


तनहुँ, माघ ३ । नाबालिग गायिका बलात्कार मुद्दामा थुनामा रहेका अभिनेता पल शाहले सफाइ पाएका छन । जबरजस्ती करणीको मुद्दामा थुनामा रहेका शाहको मुद्दामा अभियोग दाबी नपुग्ने भन्दै जिल्ला अदालत तनहुँले आज सफाइ दिएको हो ।

जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासमा मुद्दाको अन्तिम सुनुवाइपछि उक्त फैसला भएको हो । दुवै पक्षबाट मंगलबार दिनभर बहस भएको थियो। जिल्ला अदालत तनहुँका स्रेस्तेदार मिनबहादुर कुँवरले शाहलाई सफाइ दिने फैसला भएको बताउनु भयो ।

उहाँले फैसलाको पूर्ण पाठ आउन भने समय लाग्ने बताउनु भयो । पलको मुद्दा यसअघि पटक पटक पेशी तोकिए पनि स्थगित हुँदै आएको थियो । पलविरुद्ध नाबालिग गायिकालाई बलात्कारको आरोप लागेको थियो। तर पछि पीडित भनिएकी किशोरीले नै अदालतमा बयान फेर्दै जाहेरी झुटो भएको बताएकी थिइन्।

पीडितले जाहेरी फेरेर होस्टाइल भए पनि नवलपुर अदालतले पललाई यस्तै मुद्दामा अढाइ वर्ष कैदको फैसला गरेको छ । जबरजस्ती करणीको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरुपायोगको मुद्दामा उनलाई नवलपुरमा सजाय सुनाइएको थियो ।

नवलपुरले भदौ २१ गते फैसला गरेको थियो । गत फागुन ११ गते शाहविरुद्ध जबरजस्ती करणीको जाहेरी जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको थियो । गत वर्षको फागुन १५ गते आफैँ प्रहरी कार्यालय पुगेका पल त्यसयता थुनामै रहेका छन ।