जनता टाइम्स

९ माघ २०७९, सोमबार ११:३६

ओलीको हातबाट सम्मानित हुन पाउँदा गायिका पूर्णिमा लामा निकै खुसी


काठमाडौं, माघ ९ । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गायिका पूर्णिमा लामा एपिक संगीत रत्न सम्मान सम्मानित हुनुभएको छ ।

गत शनिबार सम्पन्न चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ विशेष समाहरोहमा पूर्वप्रधानमन्त्री ओलीबाट गायिका लामालाई एपिक संगीत रत्न सम्मानपत्र प्रदान गरेर सम्मानित गरिएको हो । उनलाई एपिक संगीत रत्न सम्मानपत्रसहित ३३ हजार ३३३ रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो ।

भक्तपुरको सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नयरपालिका वडा नं ४ को सहकार्यमा आयोजन गरिएको उक्त चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ समारोहमा सयौँ गीतमा स्वर भरेकी गायिका लामासहित विभिन्न कलाकारहरुलाई पनि सम्मान गरिएको थियो ।

एपिक संगीत रत्न सम्मानबबाट सम्मानित गायिका लामाले ‘मुटु जली खरानी भो, फूल भनौँ जिन्दगीलाई, आगो, तिमीलाई जती माया’लगायत दर्जनौँ लोकप्रिय गीतहरु नेपाली गीतसंगीत क्षेत्रमा योगदान दिनुभएको छ ।

पछिल्लो समय व्यस्त रहेकी उहाँलाई देश विदेशमा हुने सांगीतिक कार्यक्रममा सहभागी हुनलाई भ्याइनभ्याइ छ । उहाँ हङकङ, कोरिया, दुबई, मलेसियामा आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएर स्वदेश फर्किनुभएको छ ।

लामाले पाँचौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड (२०७३ सर्वोत्कृष्ठ नवगायिका), पहिलो नेपाल म्युजिक अवार्ड (२०७५ सर्वोत्कृष्ठ नवगायिका), ११औँ बिन्दबासिनी म्युजिक अवार्ड २०७७ (सर्वोत्कृष्ठ गायिका सुगम संगीत), नवौँ म्युजिक खबर म्युजिक अवार्ड २०७८ (सर्वोत्कृष्ठ गायिका सुगम संगीत) लगायत दर्जनौँ अवार्डहरु हात पारिसक्नु भएको छ ।

गायिका लामाले राष्ट्रवादी नेता ओलीको हातबाट सम्मानित हुन पाउँदा आफूलाई निकै खुसी मिलेको बताउनु भयो ।