जनता टाइम्स

३० श्रावण २०७६, बिहीबार १९:०९

भूकम्पको दृष्टिले नेपाल टाईम बम माथि रहेको बिज्ञको निश्कर्ष, पूर्वतयारी थाल्न सुझाव


काठमाडौं, साउन ३० । भूकम्पको दृष्टिले नेपाल टाईमबम माथि रहेको भन्दै विज्ञहरुले समयमै आवश्यक पूर्वतयारी गर्न सरकारलाई सुझाव दिएका छन् । राजधानीमा आज आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्यशालामा विज्ञहरुले सरकारलाई सो सुझाव दिएका हुन् ।

भूकम्पको जोखिमका दृष्टिले विश्वमा नेपाल ११औं स्थानमा रहेको जानकारी हुँदाहुँदै पनि विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको पूर्वतयारीलाई वेवास्ता गरिएको भन्दै विज्ञहरुले तत्काल पूर्वतयारी थाल्न सरकारलाई सुझाए । विपद् व्यवस्थापक विज्ञ डा. गंगालाल तुलाधरले भूकम्पको दृष्टिकोणबाट नेपाल टाईमबम माथि रहेको भन्दै कुनै पनि बेला आईपर्न सक्ने विपद्को पूर्वतयारी सुरु गर्न ढिलाई गर्न नहुने बताउनु भयो ।

‘भूकम्पको दृष्टिकोणबाट हेर्ने हो भने नेपाल टाईमबम माथि रहेको छ, कुनैपनि बेला दुर्घटना हुनसक्छ,’ तुलाधरले भन्नुभयो, ‘तत्काल पूर्वतयारी थाल्नुपर्छ, यो काममा सरकारले ढिलाई गर्नुहुन्न ।’ नेपालको भौगर्भिक बनोटको साथै कोरिडोर सडकका नाममा नदी नाला मिचेर बनाईएका संरचना, इन्जिनियरिङ अध्ययनविनाको डोजरले बनाएको सडक, अव्यस्थित र असुरक्षित बस्ती र शहर विस्तार लगायतले बाढी पहिरो जस्तो विपद निम्तने गरेको तथ्यांक पनि उहाँले राख्नुभयो ।

तुलाधरले सुरक्षित बसोबासको प्रवन्ध मिलाउनेतर्फ सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिई आवश्यक काम गर्नुपर्ने बताउनु भयो । उहाँले विपदपछि खोज र उद्धारलाई भन्दा राहत वितरणलाई प्राथमिकता दिने गरिएको र तात्कालिक आवश्यकताका सूची अनुसार राहत वितरण हुन नसकेको बताउनु भयो ।

विपद्का बेला मानवीय उद्धार पहिलो प्राथमिकता भएपनि त्यसो हुन नसकेको भन्दै उनले चिन्ता व्यक्त गरेका छन् । उनले विपद्को समयमा उद्धार गर्न छोडेर सेल्फि लिनेहरुको भीड लाग्नु दुखद भएको भन्दै पहिलो उद्धारकर्ताको रुपमा सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए । कार्यक्रमका सहभागीले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि स्पष्ट कार्ययोजना र पर्याप्त लगानी गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।