जनता टाइम्स

१६ माघ २०७९, सोमबार ०८:२६

शहीदहरुले देखेको सपनाको सार राजनीतिक स्वतन्त्रता मात्र होइन, देशको समृद्धि र जनताको सुख पनि हो : केपी ओली


काठमाडौं, माघ १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीदहरुले देखेको सपनाकको सार राजनीतिक स्वतन्त्रता मात्र होइन, देशको समृद्धि र जनताको सुख पनि भएको बताउनु भएको छ । शहीद दिवसको अवसरमा आज सन्देश दिनुहुँदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।

‘यतिबेला हामी शहीदहरुको बलिदानी स्वरुप प्राप्त लोकतान्त्रिक ब्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा छौं । सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यवहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढाएर मात्र हामी शहीदले देखाएको मार्ग अनुशरण गर्न सक्छौं । शहीदहरुले देखेको सपनाकको सार राजनीतिक स्वतन्त्रता मात्र होइन, देशको समृद्धि र जनताको सुख पनि हो,’ अध्यक्ष ओलीले भन्नुभएको छ, ‘देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि हामी राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिको दूरगामी यात्रालाई पुनः अगाडि बढाउने प्रयासमा अघि बढिरहेका छौं । अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्तिबाट देशलाई मुक्तगर्दै पुनःसुशासन र समृद्धितर्फको यात्रामा केन्द्रित गर्नेतर्फ नेकपा (एमाले)ले अग्रसरता लिएको छ ।’

उहाँले शहीद दिवस २०७९ का अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । जहानियाँ राणा शासन बिरुद्धको संघर्षका क्रममाविसं १९९७ सालमा नेपाल आमाका वीर सपूतहरु शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले आफ्नो जीवन बलिदान गर्नुभएको थियो । बलिदानको त्यही गाथालाई हामीले शहीद सप्ताहका रुपमा मनाउने गरेका छौं । र, सोही संघर्षको भावभूमिबाट जनसंघर्षको ज्वार उठेर २००७ सालमा एक सय चार वर्ष लामो जहानियाँ राणा शासन अन्त्यभएको थियो ।

त्यसयता जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरंकुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा शहीदहरुको बलिदानमार्फत हामीले सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको ओलीले बताउनु भएको छ ।

ओलीले भन्नुभएको छ, ‘नेकपा (एमाले) देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न चाहन्छ । लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनूदित गर्न चाहन्छ । जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधा सम्पन्न बनाउनु पर्छ । यसका लागि लोकतान्त्रिक अभ्यास ब्यक्ति र समुहहरुका निजी दुराकाङ्क्षाको पूर्तिमा आधारित नभएर सुस्थिर राजनीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा परिपूर्तिको उद्देश्यमा केन्द्रित हुनु पर्छ । अमर शहीदहरुको बलिदानीले हामीलाई गरेको मार्गदर्शन पनि यही हो ।’

यस्तो छ शहीद दिवसको सन्देश

शहीद दिवस २०७९ का अवसरमा नेपालको लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर शहीदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

जहानियाँ राणा शासन बिरुद्धको संघर्षका क्रममाविसं १९९७ सालमा नेपाल आमाका वीर सपूतहरु शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गंगालाल श्रेष्ठले आफ्नो जीवन बलिदान गर्नुभएको थियो । बलिदानको त्यही गाथालाई हामीले शहीद सप्ताहका रुपमा मनाउने गरेका छौं । र, सोही संघर्षको भावभूमिबाट जनसंघर्षको ज्वार उठेर २००७ सालमा एक सय चार वर्ष लामो जहानियाँ राणा शासन अन्त्यभएको थियो । त्यसयता जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरंकुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गरेर स्वप्नद्रष्टा शहीदहरुको बलिदानमार्फत हामीले सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेका छौं ।

यतिबेला हामी शहीदहरुको बलिदानी स्वरुप प्राप्त लोकतान्त्रिक ब्यवस्थालाई सुदृढ गरी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने अभियानमा छौं । सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यवहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको शृङ्खला अघि बढाएर मात्र हामी शहीदले देखाएको मार्ग अनुशरण गर्न सक्छौं । शहीदहरुले देखेको सपनाकको सार राजनीतिक स्वतन्त्रता मात्र होइन, देशको समृद्धि र जनताको सुख पनि हो । देशको समृद्धि र जनताको सुख प्राप्तिका लागि हामी राजनीतिक स्थिरता, सुशासन, विकास र समृद्धिको दूरगामी यात्रालाई पुनः अगाडि बढाउने प्रयासमा अघि बढिरहेका छौं । अकर्मण्य, कर्तव्यहीन, उद्देश्यहीन र गन्तव्यहीन प्रवृत्तिबाट देशलाई मुक्तगर्दै पुनःसुशासन र समृद्धितर्फको यात्रामा केन्द्रित गर्नेतर्फ नेकपा (एमाले)ले अग्रसरता लिएको छ ।

नेकपा (एमाले) देशभक्तिपूर्ण, लोकतान्त्रिक, परिवर्तनकारी, विकासमुखी र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न चाहन्छ । लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनूदित गर्न चाहन्छ । जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनमुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधा सम्पन्न बनाउनु पर्छ । यसका लागि लोकतान्त्रिक अभ्यास ब्यक्ति र समुहहरुका निजी दुराकाङ्क्षाको पूर्तिमा आधारित नभएर सुस्थिर राजनीति र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा परिपूर्तिको उद्देश्यमा केन्द्रित हुनु पर्छ । अमर शहीदहरुको बलिदानीले हामीलाई गरेको मार्गदर्शन पनि यही हो ।

अन्त्यमा, शहीद दिवसका अवसरमा समाज र राष्ट्रको हितमा निस्वार्थ रुपमा सक्रिय हँुदै अघि बढ्न सबैलाई प्रेरणा मिलोस भन्ने कामनासहित लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन अर्पण गर्नुहुने अमर शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।

१६ माघ, २०७९
केपी शर्मा ओली
अध्यक्ष