जनता टाइम्स

१९ माघ २०७९, बिहीबार १८:०८

सन्दीप लामिछाने बन्द प्रशिक्षणमा सामेल, टिममा पनि राख्ने तयारी


काठमाडौं, १९ माघ । पूर्व कप्तान सन्दीप लामिछानेको नेपाली राष्ट्रिय क्रिकेट टिमबाट खेल्ने सम्भावना बलियो रहेको नेपाली टिमका मुख्य छनोटकर्ता दीपेन्द्र चौधरीले बताउनुभएको छ ।

सन्दीप बिहीबारबाट बन्द प्रशिक्षण आउने र खेल्नका लागि तयार पाईएमा उनी राष्ट्रिय टिममा रहने छनोटकर्ता चौधरीले बताउनुभयो । ‘हामीले अहिलेसम्म टोलीको अन्तिम छनोट गरेका छैनौं । २८ जनाको प्रारम्भिक टोलीमा थिएनन् । लामिछाने आजबाट क्याम्पमा सहभागी हुदैछन् ।’ चौधरीले भने, ‘क्याम्पमा फिजियो,ट्रेनर र कोचले उनको स्थिति बारे मुल्याङ्कन गरेपछि हामी निर्णय गर्नेछौं । यदी वहाँहरुले ओके भनेमा लामिछाने टिममा रहने छन् ।’

नेपाली टोलीले आईसीसी विश्वकप क्रिकेट लिग–टू अन्तर्गत नेपालमा हुने त्रिकोणात्मक सिरिजको लागि तयारीमा रहेको छ । नेपाल, नामिबिया र स्कटल्याण्ड सम्मिलित सिरिज आउँदो फागुन २ गतेदेखि सुरु हुनेछ । सोही सिरिजका लागि २८ सदस्यीय प्रारम्भिक टोली घोषणा भईसकेको छ ।

सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्नेछ । जुन खेल फेब्रुअरी १४ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग फेब्रुअरी १७ मा खेल्नेछ । नेपालले फेब्रुअरी १८ मा नामिबियासँग दोस्रो खेल खेल्दा स्कटल्याण्डसँग फेब्रुअरी २१ मा पुनः खेल्नेछ ।

एक नाबालिकलाई बलात्कारको आरोप लागेपछि क्यानले सन्दीपलाई निलम्बन गरेको थियो । तर, पोखरामा मंगलबार बसेको क्यान बोर्ड बैठकले मुद्दाको किनारा नलाग्दै सन्दीपको निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो ।

क्यानले गत भदौ २३ गते सन्दीपलाई निलम्बन गरेको थियो । सन्दीपविरुद्धको बलात्कार मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।

गत पुस २८ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सन्दीप पुस १९ गते धरौटी बुझाएर थुनामुक्त भएका थिए। यता, सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालतमा मंगलबार निवेदन परेको थियो ।

महान्यायाधिवक्ता कार्यालयले उच्च अदालतको आदेश बदरको माग गर्दै सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्दै सर्वोच्चमा निवेदन दिएको हो । एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी बृत्त गौशालामा एक बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो । भदौ २३ गते काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सन्दीप गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।