जनता टाइम्स

२० माघ २०७९, शुक्रबार ०९:०३

तेक्वान्दोको ग्रेडिङ परीक्षा कार्यक्रम सुरू


मोरङ, २० माघ । विराटनगरमा तेक्वान्दो खेलको ग्रेडिङ परीक्षा बिहीबारदेखि यहाँ सुरू भएको छ । प्रदेश नं १ आइटिएफ तेक्वान्दो सङ्घको आयोजनामा सुरु भएको ग्रेडिङ परीक्षामा तेक्वान्दोको कालोपेटी प्रथम, कालोपेटी दोस्रो र कालोपेटी तेस्रो डान ग्रेडिङ परीक्षा रहेको आइटिएफ तेक्वान्दोका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश नं १ का अध्यक्ष प्रवीण कार्कीले जानकारी दिनुभयो ।

प्रदेशका ४१ तेक्वान्दो खेलाडीको सहभागिता रहेको उक्त परीक्षामा उत्तीर्ण हुने खेलाडीलाई ग्रेड वृद्धि गरिने कार्कीले बताउनुभयो । प्रदेश नं १ का खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले ग्रेडिङ परीक्षाको उद्घाटन गर्दै खेलकुद क्षेत्रको विकासमा सरकारले सहयोग गर्ने बताउनुभयो । उहाँले तीन तहको सरकार खेलकुद क्षेत्रको विकासमा अगाडि बढेर यस क्षेत्रको विकासमा लाग्नुपर्ने विचार राख्नुभयो ।

प्रदेशसभा सदस्य जयप्रकाश चौधरी, नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासङ्घका अध्यक्ष तथा नेपाल आइटिएफका केन्द्रीय उपाध्यक्ष कार्कीले खेलकुदले अनुशासन कायम गर्ने भएकाले यस क्षेत्रको विकासमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।