काठमाडौं, २२ माघ । नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले नेकपा एमालेसहितको वाम एकतामा जोड दिनुभएको छ । पार्टीको जारी पाँचौ केन्द्रीय कमिटी बैठकमा तेस्रो वरीयतका नेता न्यौपानेले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि लिखित रुपमै फरक मत दर्ज गर्नुभएको हो।
उहाँले अहिलेको संकटपूर्ण घडीमा नेकपा एकीकृत समाजवादीको नेतृत्वले राजनीतिक स्थायित्वका लागि, आर्थिक अवस्थालाई समाजवादउन्मुख दिशामा लैजान र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको रक्षा तथा विकास गर्न मूर्त र ठोस ढंगको राजनीतिक कार्यदिशासहितको कार्यभारलाई आत्मसात गर्न जरुरी भएको बताउनुभएको छ । त्यसका लागि उहाँले नेकपा एमालेसहितको बृहत कम्युनिस्ट एकतामा जोड दिनुभएको छ ।
‘आजको मुख्य कार्यभार एक देश–एक कम्युनिष्ट पार्टी निर्माण हो । नेकपा (एमाले) सहितको वृहतकम्युनिष्ट एकता हो । यो कार्यभारलाई चालु केन्द्रीय कमिटीको वैठकवाट पारित गरि अघि वढ्नु पर्दछ’, न्यौपानेले आफ्नो फरक मतमा उल्लेख गर्नुभएको छ ।
नेता न्यौपानेले २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा जनताले नेकपा एकीकृत समाजवादीलाई स्वीकार गर्न नसक्दा संविधानको प्रावधान अनुसार थ्रेसहोल्डसम्म जोगाउन नसकेको बताउनुभएको छ ।
‘जनताले हामीले गरेको विद्रोहलाई स्वीकार गरेनन् । एउटा कम्युनिष्ट पार्टीले आफुलाई जनताको इच्छा र आकांक्षा अनुसार चलाउनु पर्छ’, न्यौपानेले भन्नुभएको छ , ‘यदि जनताको आवश्यकता र इच्छा अनुसार चल्न सकोनौं भने हामी असफल हुने छौं ।’ बैठकको पहिलो दिन शनिबार अध्यक्ष नेपालले पेश गरेको २५ पेज लामो राजनीतिक प्रतिवेदनमा भने नेकपा एमालेलाई दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी भन्दै उसको वर्ग अडान स्पष्ट नभएको दावी गर्नुभएको छ । न्यौपानेले एमालेसँगको एकताले मात्रै एक देश एक बृहत कम्युनिस्ट पार्टी बन्न सक्ने दावी गर्नुभएको छ ।
न्यापानेले दर्ज गर्नुभएको फरक मत यस्तो छ ः –
देशको वर्तमान परिस्थिति र हाम्रा कार्यभारहरुः
देश निरन्तर राजनीतिक र आर्थिक रुपले संकट उन्मुख वन्दै गइरहेको छ । नेपालमा राजनीतिक अस्थिरता २०४७ सालमा कृष्ण प्रसाद भट्टराईको सरकार निर्माण भए पछि निरन्तर जारी छ । यो वीचमा ३२ वर्षमा २८ जना प्रधानमन्त्री भए । यो हिसावलेहाम्रो संविधान वमोजिम प्रधानमन्त्रीको अवधि पुरा गर्नु पर्ने हो भने १४० वर्ष अवधि पुरा गर्नु पर्दथ्यो ।
यस्तो खालको दृष्टान्त भोग्न हामी वाध्य छौं । तर देशका राजनीतिक दलका नेताहरुको अकमण्र्यता र विदेशी चलखेल यसको मुख्य कारक तत्व वन्यो । एकातिर नेपालको चीनसँगका सम्बन्धलाई कमजोर वनाउने र नेपाललाई चीनवाट अगलथलग पारी नेपाललाई आफ्नो मुष्ठीमा राख्ने विदेशीहरुको योजना र उनीहरुको गम्भीर षड्यन्त्रलाई नवुभ्mने नेपालका राजनीतिक दलका नेताहरुको कमजोरीले गर्दा खेरी आज हाम्रो देश राजनीतिक रुपले चरम अस्थिर र आर्थिक रुपले डामाडोल अवस्थामा छ ।
जसको परिणाम आयात १७ खरव र निर्यात केवल १ खरव ९५ करोडको हाराहारी देखिन्छ । भारतवाट मात्रै साढे नौ खरवको आयात देखिन्छ । देश तवसम्म विकास हुँदैन जवसम्म चार कुरामा हाम्रो राष्ट्रिय ध्यान पुग्दैन । पहिलो, उत्पादनमा वृद्धि, दोस्रो, व्यापार विस्तार तेस्रो, आयातमा कटौती र चौथो, निर्यातमा वढोत्तरी । वर्तमान राजश्वको गति हेर्दा देश आर्थिक रुपले भयाभय अवस्थामा पुगेको कारण कर्मचारीहरुलाई तवल खुवाउन र दैनिक शासन प्रशासन चलाउन पनि वैदेशिक ऋण काढेर तलव भुक्तानी दिनु पर्ने परिस्थिति देशका सामु देखा परेको छ ।
मुलुकमा देखा परेको यस संकट पूर्ण परिस्थितिमा मार्क्सवादले अगाडी सारेको ठोस परिस्थितिको ठोस विश्लेषण मारक्सवादको जिउँदो जाग्दो आत्मालाई हाम्रो पार्टीले आत्मसात गर्न सकेको छैन । २०७९ मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा जनताले मतदानमा हाम्रो पार्टीलाई स्वीकार गर्न नसक्दा संविधानको प्रावधान अनुसार थ्रेसहोल्ड सम्म जोगाउन सकेन । जनताले हामीले गरेको विद्रोहलाई स्वीकार गरेनन् ।
एउटा कम्युनिष्ट पार्टीले आफुलाई जनताको इच्छा र आकांक्षा अनुसार चलाउनु पर्छ । यदि जनताको आवश्यकता र इच्छा अनुसार चल्न सकोनौं भने हामी असफल हुने छौं । आफ्नो कमी कमजोरीहरुलाई आत्मसात गरी सच्याउँदै अघि बढ्ने, असफलतावाट शिक्षा लिई ठोस परिस्थितिको ठोस विश्लेषण गर्न जरुरी छ । अतः संकटपूर्ण घडीमा हाम्रो पार्टीको नेतृत्वले राजनीतिक स्थायित्वका लागि, आर्थिक अवस्थालाई समाजवाद उन्मुख दिशामा लानका लागि र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको रक्षा, विकास गर्नका लागि मूर्त र ठोस ढंगको राजनीतिक कार्यदिशा र मुख्य कार्यभारलाई आत्मसात गर्न जरुरी छ ।
आजको मुख्य कार्यभार एक देश–एक कम्युनिष्ट पार्टी निर्माण हो । नेकपा (एमाले) सहितको वृहतकम्युनिष्ट एकता हो । यो कार्यभारलाई चालु केन्द्रीय कमिटीको वैठकवाट पारित गरि अघि वढ्नु पर्दछ ।
वर्तमान अवस्थामा ने।क।पा (एकीकृत समाजवादी) भित्र विचार, राजनीति र संङ्गठन निर्माणका सन्दर्भमा देखा परेका समस्याहरु निम्नानुसार रहेका छन्ः
१ सुदृढ र वैचारिक रुपले स्पष्ट पार्टी निर्माण विना सामाजिक रुपान्तरणको कुरा केवल बनावटी मात्रै हुन्छ ।
२ मुलुकमा परिर्वतन र समाज रुपान्तरणको कामलाई अगाडी बढाउने हो भने पार्टीेले स्पष्ट दिशाबोध भएको चुस्त,
फुर्तिलो र ज्ञानयुक्त विवेक बोकेको युवापंक्ति पार्टीका हरेक कमिटीमा कम्तिमा ५० प्रतिनिधित्व गर्नुपर्छ ।
३ परिर्वतनको आन्दोलनलाई जनताको जिवनमा समृद्धिको उचाइमा पु¥याउने हो भने पार्टीले जनताको इच्छा, आवश्यकता र भावनालाई आत्मसातगर्न सक्नुपर्छ र त्यसै अनुरुप आफ्नो संगठनलाई परिचालन गर्न सक्नुपर्छ ।
४ आफ्नो ईच्छाहरु पुरा गर्न जनतालाई उपयोग गर्ने आजको आचरणबाट दलको नेतृत्व मुक्त हुनुपर्छ ।
५ सुद्धीकरण भनेको विचार, व्यवहार, संगठन र आचरणको सुद्धीकरण हो ।
६ सुदृढीकरण भनेको माथिका चार कुरामा तलदेखी माथिसम्मका सम्पूर्ण कमिटीहरुलाई जोड्नु, सम्पूर्ण पार्टी सदस्यहरुलाई कमिटीमा एकाकार गर्नु र कमिटीका कार्यकर्तालाई जनतासँगको घनिष्ट सम्बन्धमा लैजानु हो ।
७ शुद्धीकरण र सुदृढीकरण एक अर्कासँग अन्तरसम्बन्धित र अन्योन्याश्रित बिषय हुन् । एउटाको अभावमा अर्को अपूरै
रहन्छन्।
८ २०४६– २०४७ सालको जनआन्दोलनले ल्याएको परिर्वतनले हाम्रा नेता– कार्यकर्ताको ठूलै पंक्ति संसदभित्र प्रवेश गर्यो । त्यस परिर्वतनले हाम्रा सामु सिद्धान्त, विचार, संगठन र कार्यशैलीको एजेन्डाका अलावा लाभका अवसरहरुको वितरण रव्यवस्थापनको एजेन्डा समेत थपिदियो । क्रमशः पछिल्लो कालमा यो एजेन्डा हावी जस्तै छ ।
९ प्राप्ति कि परिर्वतन ? ने.क.पा (एकिकृत समाजवादी) भित्र आजको झगडाको मूल जरो भनेको यही हो । हाम्रो मस्तिष्कको चिन्तनको केन्द्र भागमा प्राप्तिको एजेन्डा प्रधान बन्दै गएका कारण हामी आफ्नो गल्ती – कमजोरी पटक्कै नदेख्ने, अर्काको कमजोरीमात्र खोजी हिड्ने, आफ्नो कमजोरी, गल्ती ढाकछोप गर्न अनेक तानावाना बुन्ने शैलीतर्फ उन्मुख छौँ ।
१० एउटा भनाई छ, ‘आफ्नो दलानमा थुप्रिएको फोहोर सफा गर्न नसक्नेले अर्काको आँगनमा रहेको कसिङ्गरतर्फ औँलो
उठाउनुको कुनै औचित्य रहँदैन्’ ।
११ विचार नै हरेक नतिजाको जननी हो, तर आज हाम्रो विचार गर्ने तरिका नै गन्जागोल छ । कसको बारेमा सोच्ने रु के
परिणाम निकाल्न सोच्ने रु तपाईँ जस्तो विचार मस्तिष्कमा रोप्नुहुन्छ, त्यस्तै व्यवहार उमार्नुहुन्छ, जस्तो व्यवहार उमार्नुहुन्छ, त्यस्तै फल प्राप्त गर्नुहुन्छ ।
१२ फल भनेको कर्मको परिणाम हो । जस्तो कर्म गरिन्छ, निरन्तरको कर्मले त्यस्तो बानी उमार्छ, खासमा यस्ता बानीले नै चरित्रको निर्माण गर्छ र चरित्र संस्कारमा स्थापित हुन्छ ।
१३ आज ने.क.पा. (एकिकृत समाजवादी)को पहिलो काम विचारको व्यवस्थापन हो । पार्टीभित्र हुर्केका असल बानी– आदत, शालिन, अध्ययनशील, सत्य कुरा बोल्ने, निष्ठावानहरुलाई पाखा लाउँर्द जाने, पैसा पद प्राप्तिका झुटा तानाबाना बुनेर गलत सूचना प्रवाह गर्ने चाप्लुसबाजहरुको बहकावमा नेतृत्व फस्दै जाने अवस्थाबाट पार्टीलाई मुक्त गर्नु पर्छ ।
१४ नेतृत्वको यस्तो संस्कार रुपान्तरण नभई सिङ्गो पार्टीको कार्यशैलीमा रुपान्तरण हुन सक्दैन । भनाइ नै छ ‘ पानी र बानी माथिबाट तलतिर बग्छ’ । तल देखिएका बिचार र कार्यशैलीका समस्याहरु माथिबाटै तल पुगेका सरुवा सुकेलुतोका लक्षण हुन्। जबकी पार्टी भनेको लाखौँ मान्छेको भरोसको कार्यथलो हो । चिन्तनको केन्दबिन्दु पनि हो र सुरक्षाको ओत लाग्ने भरपर्दो महल पनि हो ।
१५ मारक्सवादी पार्टीका कार्यकर्ताले बुझ्नु पर्ने महत्वपूर्ण कुरा के हो भने चिन्तनको केन्द्र भाग मस्तिष्कमा जे कुरा स्थापित हुन्छ, त्यही कुरा व्यवहारमा प्रकट हुन्छ । जनता र राष्ट्रको सेवाभाव चिन्तनको केन्द्र भागमा भए व्यवहारमा त्यही देखिन्छ, पद र पैसा केन्द«भागमा भए पद र पैसाकै मात्र कुरा आउँछ ः त्यागको कुरा भए त्यागको, भोगको कुरा भए भोगको । कार्यकर्ताले नेताको पहिचान गर्ने र नेताले कार्यकर्ताको परीक्षण गर्ने यो भन्दा अर्को गतिलो विधि छैन ।
१६ हामी के खान्छौँ, कहाँ जान्छौँ, कसरी बोल्छौँ ? अरुका कुरा कसरी सुन्छौँ ? अरुको बारेमा कसरी सोच्दछौँ र आफ्नोबारेमा कसरी सोच्छौँ ? यिनै कुरा हुन्, जसले हाम्रो जीवनशैलीको स्पष्ट परिचय गराउँछन्।
१७ कार्यशैलीको रुपान्तरण बिना संगठन सुदृढ र व्यवस्थित हुँदैन । कार्यशैली भनेको विचार, सिद्धान्त र जीवनलाई जोड्ने पुल हो । पुल नै धरापमा छ भने त्यहाँबाट वारपार गर्ने मान्छेको जीवन स्वतः धरापमा हुन्छ । सही कार्यशैली र विचारशैली स्थापित नभएको पार्टीमा एकता भन्ने कुरा देखावटीमात्र हुन्छ ।
१८ कार्यकर्ताहरुसँगै हिँड्छन्, एउटै बैठकमा बस्छन्, एउटै हलमा र एउटै कार्यक्रममा जम्मा हुन्छन्, तर उनीहरुको चिन्तन र मनन भने अलग– अलग दिशातिर कुदिरहेका हुन्छन् । एकजना धन डुब्लाकि भन्ने चिन्तामा डुबिरहेको हुन्छ, अर्को मान गुम्लाकि भन्ने चिन्तामा । यहाँ देश र जनताको चिन्ता कसैको मस्तिष्कको केन्द्रभागमा भेटिन्न ।
१९ परिणामको ख्याल गर्दा हामीले हाम्रा सोँचको धरातलबाट हेर्न सुरु गर्नुपर्छ । सकरात्मक सोँचको विकास कसरी गर्ने ? सकरात्मक सोँच भए सकरात्मक परिणाम निस्कन्छ, सिर्जनाको फूल फुल्छ । नकरात्मक सोँच भए नकरात्मक परिणामनिस्कन्छ, बिग्रन्छ र भत्कन्छ ।
२० के काम गर्ने ? के परिणाम निकाल्ने ? के बोल्ने ? किन बोल्ने ? आफूले बोलेको शब्द र वाक्यले के परिणाम निकाल्छन् ? तसर्थ ः बोल्नुअघि र काम गर्नुअघि नेताले विवेकी सल्लाहाकारसँग राय लिनुपर्छ । विवेकी र शालिन सच्चाइमा अडिएका मानिसको सल्लाह लत्याउने, वरिपरि स्वार्थ वोकेर घुम्ने, चाप्लुस सल्लाहकारको सल्लाहमा हिँड्ने नेताको प्रतिष्ठा बेलुकाको सुर्य डुबेझैँ हुन्छ ।
२१ काम गर्नु अघि चाप्लुस र स्वार्थीहरुको सल्लाहमा हिँड्ने, जब काम बिग्रन्छ आफ्नो कदको उचाइ बाउन्नेतिर झर्न थाल्छ अनि शालिन र सत्यवादीको खोजी गर्न हिँड्ने । यो नेताको बिशेषता होइन, मुर्खहरुको पहिचान हो ।
२२ पार्टी संगठनदेखि जनसंगठन सम्म अस्वस्थ गुटबन्दी फैलिएको छ । जालझेल षडयन्त्र, छलछाम, कोठे बैठक, संस्थालाई बाईपास गरेर आफ्नो हितका निजी योजना लागु गराउन प्रयत्न गर्ने जस्ता तल्लोस्तरका निम्न पुँजीवादी चिन्तनशैली हरेक तहमा हुर्कदैगएको देखिन्छ ।
२३ एउटा मार्क्सवादी – लेलिनवादी पार्टीभित्र हुर्किरहेको यो कार्यशैलीलाई समाप्त गर्न प्रयत्न गर्ने कि नगर्ने ? वर्तमान नेतृत्व यसबारे कति सजग छ, कति चिन्तित छ र यसमा रुपान्तरणको लागी के एजेण्डा छ ? के नेताको पहिचानको मुलसुत्र वा कडी नै यही हो ।
२४ पार्टीलाई संस्थागत कसरी गर्ने ? कार्यकर्तालाई संगठनका विधि, कार्यशैली, पद्धति र प्रणालीवारे कसरी प्रशिक्षित गर्ने र व्यवहारमै पार्टीप्रति प्रतिवद्ध तथा जनताप्रति समर्पित र देशप्रति बफादार पङक्ति कसरी निर्माण गर्ने ? यो आजका नेताहरुको चिन्तनको केन्द्र भागमा हुनुपर्ने बिषय हो । २५ माथिका कामहरु राष्ट्र निर्माण र जनताको कल्याणका लागि नगरी नहुने आधारभूत कामहरु हुन । विचार र संगठन निर्माणको विधिसम्बन्धी ज्ञान नभएका अज्ञान कार्यकर्ता बोकेर न त राष्ट्रलाई एकजुट गर्न सकिन्छ न जनतालाई समुन्नत बनाउन नै सकिन्छ ।
२६ विचार र दर्शनको धारलाई भुत्ते पारेर परिर्वतनको धारबाट अलग्गिई माक्र्सका दुईचार किताब अघि सारेर शास्त्रीय आख्यान पिलाउँदै हिँड्नु भनेको पिंध नभएको बाल्टी इनारमा डुबाएर पानी तान्नु जस्तै हो । जतिपल्ट डुबाएपनि पानीको सतह माथि ल्याउँदा बाल्टी खालीको खाली नै हुन्छ । आज नेकपा एकीकृत समाजवादीको नेतृत्वपंक्तिका कतिपय साथीहरु र तलका धेरै कमिटि र कार्यकर्ताको हालत यही पिंध नभएको बाल्टीको जस्तै छ । जति पाए पनि नपुग्ने, जति खाए पनि नअघाउने, जति भरे पनि नभरिने ।
२७ लोभ बढेको बढ्यै छ, पद खोजेको खोज्यै छ, सांसद दिए भोलिपल्ट देखि मन्त्री खोज्छ, मन्त्री पाए गृहमन्त्री खोज्छ, प्रधानमन्त्री भए पनि उसको तृष्णा मेटिदैन, शरीर जीर्ण हुन लाग्यो तर उसकोतृष्णा तन्नेरी नै छ । उ तृष्णाको त्यान्द्रोले बाँधिएको छ, त्यतै तानिएको छ, लोभको यस्तो पासोमा परेको छ , त्यसबाट छुटकारा पाउन सक्दैन, पाउन नै चाहँदैन ।
२८ आज यस्तो अवस्थाको सिर्जना किन भयो रु माथिल्लो तहमा चिन्तनको केन्द«भागमा कुर्सी छ र त्यो प्राप्त गर्नको लागि धन चाहिन्छ । उच्च विचार र सादा जीवनको विगत लामो कालको शिक्षा दिमागको संग्राहलयहको कुन कुनामा छ रु थाहा छैन । हिजोको विचारको उचाइ आज कुर्सीको उचाइको बराबरमा सीमित छ, उसको दिमागले अनन्त उच्चाईतर्फ न ध्यान दिनसक्छ, न त आफ्नै घरको छतमाथि चम्किरहेको पुर्णिमाको जूनतिर, न यो जगत र यसका बासिन्दा महान् प्रतिभाशाली मानवतिर नै । उ केवल कुर्सी हेर्छ, कति अग्लो छ, अरुको भन्दा कति अग्लो रु बस । यसैले उ ब्रम्हाण्डबाट बाउन्नेमा खसेको छ ।
२९ यो अवस्थाबाट हामीले पार्टीलाई मुक्त गर्ने हो भने विगत बिस बर्षयताको पार्टीभित्रको अवस्थाको अध्ययन गर्नैपर्छ । जब हामी सरकारमा पुग्यौँ, पार्टीमा काम गर्ने र सरकारमा जानेहरुको बीचमा जेजस्ता दरार पैदाभए, ति कुराहरुको मुल्याङ्कन गर्नैपर्छ ।
३० महन्त वेशासनबाट तल झर्न रुचाँउदैन । उसलाई कुर्सी पनि अरुको भन्दा अग्लो बिशेषखालको टाउको भन्दा एक फिट माथि उचाई भएको चाहिन्छ । महन्तले कसैलाई नमस्ते गर्दैन, सबैले उसलाई नमस्ते गर्नुपर्छ । उसको ध्यान आफूलाई नमस्ते गर्ने–नगर्नेतर्फ नै ज्यादा जान्छ । महन्तको चिन्तनको केन्द्र भागमा नै जम्मा तीनवटा कुरा हुन्छन् ः अग्लो कुर्सी, अग्लो बिस्तारा र फोस्रो उपदेश । सुनचाँदी र नोटको भेटीका लागि महन्त जस्तोसुकै सम्झौता गर्न तयार
हुन्छ ।
३१ महन्त र नेताबीचको भिन्नता के हो भने नेताले जनतालाई उपदेश होइन, विचार दिन्छ । नेताले आफूलाई कुर्सीको उचाइमा होइन, विचारको उचाइमा नाप्छ । नेता विचारले चल्छ, विश्लेषण गरेर अघि बढ्छ । नेताले कहिल्यै आफूलाई जनताभन्दा माथि राख्दैन । नेता आवश्यक परे भुँईमा बस्छ, गुन्द«ीमा सुत्छ र पैदल हिँड्छ, पब्लिक सँगै बसमा यात्रा गर्छ । नेता आफ्नो सुरक्षा जनताको श्रद्धामा देख्छ । जहाँ श्रद्धा छ, त्यहीँ सुरक्षा हुन्छ, जुन दिन जनताको श्रद्धा सकिन्छ, त्यही दिन नेताले पुलिसको सुरक्षा घेरा खोज्छ । चौतर्फी आफूलाई अविश्वास, घृणा र तिरस्कार गरेको ठान्नु नै सुरक्षाको घेरामा सुरक्षाकर्मीको पहराभित्र आफूलाई लानु हो ।
३२ यिनै यस्तै चिन्तन र पद्धति सच्याउन पार्टीभित्र शुद्धिकरण र सुदृढिकरणको आवश्यकता पर्छ । पार्टी भनेको जनताका लागि हुनुपर्छ, देशका लागि हुनुपर्छ । पार्टी संगठन साध्य होइन, साधन हो । साधन राम्रो बनाउन र राम्रो चलाउन राम्रा नेता र राम्रा कार्यकर्ताको पंक्ति चाहिन्छ । हरेक कुरा जनताको लागी जनताकै ईच्छामा हुनुपर्छ । यसका लागि नेताहरुले आफूलाई रुपान्तरण गर्नुपर्छ । ‘पहिले माथिकालाई, मलाई र बाँकी तलकालाई’ भन्ने महन्त आचरणबाट नेता मुक्त हुनुपर्छ । कार्यकर्ताहरु पनि आजको शैली र आचरणबाट मुक्त हुनुपर्छ, उसले देश र जनताका लागि आफूलाई समर्पित गर्नुपर्छ । यसरी मात्र सिङ्गो पार्टीलाई जनताको पार्टीमा बदल्न सकिन्छ ।
३३ जनता परिर्वतन चाहान्छन्र परिर्वतनलाई आत्मसात गर्न सक्छन्। नेताले जनताको परिर्वतनको चाहनालाई आत्मसात् गर्न सक्नुपर्छ । पार्टीका अगाडी सँधै चारवटा एजेन्डा मुख्यरुपले साम्नेमा हुन्छन् (१) जनताका तात्कालिन र दीर्घकालीन एजेन्डा (२) देशका एजेन्डा (३) पार्टीका एजेन्डा र (४) कार्यकर्ताका एजेन्डा । जनताको एजेन्डा गाँस, बास, कपास, शिक्षा, स्वास्थ्यसँग गाँसिएको हुन्छ । सामाजिक रुपान्तरण र सामाजिक विकासका आर्थिक एजेन्डा जनताको आर्थिक जिवनसँग गाँसिएका मुख्य एजेन्डा हो । दोश्रो, देशको एजेन्डा राष्ट्रिय स्वभिमान, सार्वभौमिकता र राष्ट्रिय सम्मानसँग गाँसिएका मुख्य एजेन्डा हो । तेश्रो, पार्टीको एजेन्डा हो । पार्टी भनेको परिर्वतनको बाहक हो । जनताको नेता हो र देशको संरक्षक हो । राष्ट्रलाई एकजुट गर्न, विकास निर्माणमा जनतालाई गोलबन्द गर्न र निश्चित लक्ष्यतर्फ जनतालाई सशक्त ढङ्गले अगाडी बढाउन नै पार्टी आवश्यक हुन्छ । र चौथो एजेन्डा कार्यकर्ताका हुन्। कार्यकर्तालाई विचार र राजनीतिले लैस गर्दै तथा माथिकका तीनवटा एजेन्डा पूरागर्न सही ढंगले शक्ति विन्यास र परिचालन गरेर नै पार्टीले परिर्वतनका आफ्ना एजेन्डा कार्यान्यवन गर्ने सही तरिका हो । कार्यकर्ताका एजेन्डा दुई भागमा बाँडिएका हुन्छन् । संस्थासँग सरोकारका बिषय र घरपरिवारका सरोकारका बिषय । यी दुवै एजेन्डाबारे वैचारिक, राजनीतिक र आर्थिक सवालमा सुस्पष्टता नभई कार्यकर्ता गतिशील बन्न सक्तैनन् । नेपालका राजनीतिक दलहरुका नेतृत्वको अहिलेको विचलन भनेकै परिर्वतनको एजेन्डाबाट बिचलन प्राप्तिको एजेन्डातिर उन्मुख हुनु हो । २०४८ सालको परिर्वतनपछि जब लाभका अवसरहरु खुला भए, तब विस्तारै राजनीतिक दलको नेतृत्वका अगाडी परिर्वतनका एजेन्डा कमजोर बन्दै गए र प्राप्तिको एजेन्डा प्रधान बन्दै गए ।
परिर्वतनको एजेन्डा देशका लागि हुन्छ, जनताका लागि हुन्छ तर प्राप्तिको एजेन्डा व्यक्तिका लागि हुन्छ, पहुँचवाला व्यक्तिको लागि हुन्छ । यसले व्यक्ति–व्यक्तिमा झगडा बढाउँछ, पाउनेहरु एकातिर हुन्छन् नपाउनेहरु अर्कातिर हुन्छन । पार्टीभित्र गुटबन्दी सुरु हुन्छ र निजी अवसर प्राप्तिको लागि सबै झुम्मिन थाल्छन्, दलहरु क्रमशस् कमजोर र नेतृत्व स्वार्थी बन्दै जान्छ । जवसम्म नेपालका राजनीतिक दलका नेतृत्व र तिनका कार्यकर्ताले एजेन्डाको यो मर्मलाई बुझ्दैनन्, तबसम्म राजनीतिक दलहरुले देश र जनताको परिर्वतनका एजेन्डालाई बोक्न पनि सक्तैनन् । नेपाली राजनीतिको मूल समस्या यही हो ।
माथि उल्लेखित गरिएका तमाम समस्याहरुको वारे समाधानका उपायहरु छन् ? नेकपा (एकीकृत समाजवादी) को नेतृत्वले यी समस्याहरुलाई आत्मसात गरी सच्याएर अघि बढ्न सक्छ कि सक्दैन ? नेतृत्वले आफूलाई सच्याएर पार्टीलाई अगाडि बढाउन सक्छ कि सक्दैन ? नेतृत्व गम्भीर परीक्षाकै घडीमा छ ।













प्रतिक्रिया दिनुहोस्