काठमाडौं, भदौ २० । बाहिर बाढीको भेल उर्लिरहेको थियो। घरहरू बगिरहेका थिए। आफन्तहरू बेपत्ता थिए। चारैतिर विनाश र निराशा थियो। तर, त्यही विनाशको गर्भमा एउटा जीवन भने ११ दिनदेखि आशाको सानो दियो बालेर बाँचिरहेको थियो।
भोटेकोसी नदीमा आएको विनाशकारी बाढीले बगाएर पुरेको चारतले घरभित्रबाट ६० वर्षीया चण्डिका श्रेष्ठलाई ११ दिनपछि जीवितै बाहिर निकालिएकाे छ।
शनिबार दिउँसो नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा उद्धारमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोलीले पुरिएको घरभित्रबाट मानिस कराएको आवाज सुने। त्यो आवाज सामान्य आवाज थिएन । ११ दिनदेखि मृत्यु र जीवनबीच संघर्ष गरिरहेकी एक आमाको जीवनको पुकार थियो।
प्रहरीले आवाज पछ्यायो। माटो, ढुंगा र भग्नावशेष हटाउन थाल्यो। आशा कम थियो, तर उद्धार टोली रोकिएन। अन्ततः भग्नावशेषभित्रबाट चण्डिकालाई जीवितै निकालियो। ११ दिनसम्म अँध्यारोमा थुनिएर पनि उहाँले जीवनसँगको सम्बन्ध तोड्नुभएकाे थिएन ।
भदौ १० गते आएको बाढीले चण्डिकाको घरलाई जगसहित बगाएर मूल स्थानबाट करिब ५० मिटर पर पुर्याएको थियो। स्थानीय नारायणलाल डंगोलका अनुसार बाढी आउनुअघि घर रहेको ठाउँ र बाढीपछि घर पुगेको ठाउँबीच करिब ७० मिटरको दूरी थियो।
त्यही घरभित्र चण्डिका हुनुहुन्थ्यो। बाहिरबाट हेर्दा त्यो घर माटो र भग्नावशेषको थुप्रो जस्तो देखिन्थ्यो। तर त्यही थुप्रोभित्र एउटा मुटु धड्किरहेको थियो।
विदुर नगरपालिका–१० का वडा सदस्य मंगल तामाङका अनुसार बाटो खन्ने र बगरमा मानिसको आवतजावत भइरहेका बेला अचानक घरभित्रबाट मानिसको आवाज सुनिएको थियो। आवाज सुन्नेबित्तिकै प्रहरीलाई खबर गरिएको थियो। त्यस पछि प्रहरीले तुरुन्त उद्धार सुरु गरेकाे थियाे र उहाँलाई जीवित निकाल्न सफल भयाे ।
शनिबार दिउँसो नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा उद्धारमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोलीले पुरिएको घरभित्रबाट मानिस कराएको आवाज सुने। त्यो आवाज सामान्य आवाज थिएन । ११ दिनदेखि मृत्यु र जीवनबीच संघर्ष गरिरहेकी एक आमाको जीवनको पुकार थियो।
तर, यो खुसीसँगै चण्डिकाको परिवारको पीडा भने अझै सकिएको छैन। उहाँका श्रीमान् आनन्द श्रेष्ठ अझै सम्पर्कविहीन हुनुहुन्छ। एउटै परिवारमा एक जना जीवनको उज्यालो लिएर फर्किनुभएको छ, अर्को सदस्यको खबर अझै अँध्यारोमै छ।
चण्डिकाको उद्धारले बाढी र पहिरोले थिचिएको मुलुकलाई एउटा गहिरो सन्देश दिएको छ-भग्नावशेष देखेर आशा छाड्नु हुँदैन। आझै मानिसहरु जीवित हुने सम्भावना छ ।खोजी रोकिनु हुँदैन, अझ तिव्र बनाउनु पर्छ ।
बाढी आएको ११ दिनपछि भग्नावशेषबाट आएको चण्डिकाको आवाजले सरकार र उद्धारकर्तालाई मात्र होइन, सिंगो समाजलाई सम्झाएको छ-मानिसको जीवनको मूल्य समयले होइन, आशाले निर्धारण गर्छ।
शनिबार नै माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक चिनियाँ नागरिकको पनि जीवितै उद्धार गरिएको छ। त्यसअघि शुक्रबार त्रिशूली–३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो।
विनाशले धेरै जीवन खोसेको छ। धेरै परिवारलाई शोकमा डुबाएको छ। तर चण्डिकाको पुनर्जन्मजस्तो उद्धारले एउटा कुरा फेरि प्रमाणित गरेको छ-सबै ढोका बन्द भए पनि आशाको एउटा सानो झ्याल खुला रहन सक्छ र त्यो झ्यालबाट कहिलेकाहीँ ११ दिनपछि पनि जीवन फर्केर आउँछ।














प्रतिक्रिया दिनुहोस्