जनता टाइम्स

२४ माघ २०७९, मंगलवार १४:४९

लमजुङमा खुला बाघचाल तेस्रो प्रतियोगितामा नविन बास्तोला विजयी


लमजुङ २४ माघ । लमजुङमा सञ्चालन गरिएको खुल्ला बाघचाल प्रतियोगितामा नविन बास्तोला पहिलो भएका छन् । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले आफ्नो सातौं स्थापना दिवसमा उक्त प्रतियोगिता आयोजना गरेको हो ।

सुन्दरबजार नगरपालिका– ९ को सिउँडीबार स्थित समुताँ तमु समाजको सामुदायिक भवनको हातामा सञ्चालन गरिएको खुल्ला बाघचाल प्रतियोगितामा २६ टिमले भाग लिएका थिए ।

सो प्रतियोगितामा सुन्दरबजार नगरपालिका– ३ दुराडाँडाका नवीन बास्तोला पहिलो, सुन्दरबजार नगरपालिका– १० कोइराला फाँटका कृष्णहरि कोइराला दोस्रो, सोही नगरपालिका– ६ सुन्दरबजारका राजु न्यौपाने तेस्रो तथा सोही नगरपालिका– ५ का खत्रीढाँटीकै धनबहादुर तामाङले सान्त्वना स्थापन हासिल गरेको सो खेलको निर्णायक समितिका संयोजक एवम् आयोजक संस्थाका कार्यकारी सदस्य रमाराज खनियाले बताए ।

उनका अनुसार दुई जना सान्त्वना पुरस्कार पाउने भएको हुँदा रविन पाण्डे राइनास गनरपालिका– ६ धमिलिकुवाले सान्त्वना स्थान हासिल गरे । उनले भने, ‘अन्य चरणका खेल बेष्टआफ थ्रि र फाइनल प्रतियोगिता बेष्ट अफ फाइभका आधारमा गरिएको थियो ।

विजयी हुने बास्तोलाले सिधा सेटमा प्रतिद्वन्द्वी कोइरालालाई हराएका थिए । उक्त प्रतियोगितामा भाग लिएका स्कूले विद्यार्थी सन्दिप श्रेष्ठलाई प्रोत्साहन स्वरुप पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । उनलाई तेस्रो हुनु हुने राजु न्यौपानेले पनि पाँच सय रुपैयाँ पुरस्कार प्रदान गर्नु भएको थियो ।

सयपत्री आवासीय माविको कक्षा– ४ मा पढ्ने श्रेष्ठले दुई चरणसम्म जित हासिल गरेका थिए । बाघचाल प्रतियोगिताको नतिजा प्रतिष्ठानका कार्यकारी सदस्य एवम् निर्णयक समितिका सहसंयोजक कृष्णबहादुर केसीले घोषणा गरेका थिए ।

उनका अनुसार पहिलो, दोस्रो, तेस्रो र सान्त्वना स्थान हासिल गर्नेहरूलाई क्रमशः १० हजार, सात हजार, पाँच हजार तथा सान्त्वना स्थान हासिल गर्नेहरूलाई जनही दुई हजार पाँच सयका दरले पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।