जनता टाइम्स

३२ श्रावण २०७६, शनिबार १७:४१

देउवाको सन्देश लिएर रबि लामिछाने भेटन पुगे कांग्रेस नेता बडु


चितवन, साउन ३२ । कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रबि लामिछाने भेट गर्नुभएको छ ।

भेटपछि नेता बडुले पूर्वाग्रह नराखी छानबिन हुनु पर्नेमा आफ्नो जोड रहेको बताउनु भयो । रबिले पनि निश्पक्ष छानबिनमा सहघाउन तयार रहेको बताएको नेता बडुले जानकारी दिनुभयो । कांग्रेस सभापति शेरबहादुर देउवाको सन्देश लिएर बडु रिव भेटन चितवन आएको स्रोतले बताएको छ ।

यता रबि लामिछानेको समर्थनमा उत्रिएका समूहको भीड नियन्त्रण गर्न प्रहरीले लाठी चार्ज गरेको छ । जिल्ला प्रहरी कार्याल बाहिर जम्मा भई नाराबाजी गरिरहेका समूहको भीड अनियन्त्रित भएपछि प्रहरीले चार राउण्ड अश्रुग्याँससमेत प्रहार गरी भीड तितरवितर बनाएको हो । रविलाई रिहा गर्न माग गर्दै बिहानैदेखि नाराबाजी गरिरहेका प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुंगा प्रहार गरी क्षति पुर्याएपछि प्रहरीले बल प्रयोग गरेको छ ।

शुक्रबार साँझ पनि भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । पत्रकार पुडासैनीको आत्महत्या प्रकरणमा लामिछानेसहित पक्राउ परेका युवराज कँडेल र रुकु कार्कीलाई ५ दिन हिरासतमा राख्न अदालतले शुक्रबार अनुमति दिएको थियो । चितवन प्रहरीले यस बिषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।