जनता टाइम्स

१ भाद्र २०७६, आईतवार १४:४५

उज्वेकिस्तानको राष्ट्रिय भलिबल टोली नेपालमा


काठमाडौं, भदौ १

भोलिदेखि नेपालमा आयोजना हुने एभिसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन उज्वेकिस्तानको राष्ट्रिय भलिबल टोली आज नेपाल आइपुगेको छ । यही भदौ २ देखि ७ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा सहभागी हुन उक्त टोली आज नेपाल आइपुगेको हो, अन्य टोली भने यसअघि नै नेपाल आइसकेका छन् ।

नेपालले पहिलो पटक आयोजना गरेको उक्त प्रतियोगितामा सात राष्ट्रको सहभागिता रहेकामा आयोजक नेपालसहित बङ्गलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान छन् । उक्त प्रतियोगितामा नेपाल ‘ए’ समूहमा परेको छ । नेपालको समूहमा कीर्गिस्तान र माल्दिभ्स छन् । समूह बीमा भने तुर्कमेनिस्तान, बङ्गलादेश, उज्वेकिस्तान र अफगानिस्तान छन् ।

प्रतियोगितामा नेपालको पहिलो प्रतिद्वन्द्वीको रुपमा कीर्गिस्तान रहेको र भोलिको उद्घाटन खेलमा यी दुबै टोली प्रतिस्पर्धा गर्ने भएका छन् ।सोही दिन अफगानिस्तान र तुर्कमेनिस्तानबीच पनि खेल हुनेछ भने सोमबार साँझ नै बङ्गलादेश र उज्वेकिस्तान खेल्ने भएका छन् । प्रतियोगिताको सबै खेल लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा हुनेछ ।