काठमाडौं, भदौं १ । टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने पक्राउ गरेको विषयमा प्रहरी अधिकारीलाई ‘भ्रष्ट’ भन्दै फेसबुकमा गालीगलौज गर्ने एक युवा अछामबाट पक्राउ परेका छन । लामिछानेका समर्थक भन्दै ती युवाले महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीलाई ‘रवि दाइलाई फसाउने यो भ्रष्ट हो’ भन्दै स्टाटस लेखेका थिए ।
काठमाडौं परिसरको अनुरोधमा मंगलसेन नगरपालिका–५ का २१ वर्षीय शंकर विकलाई पक्राउ गरी काठमाडौं पठाइएको अछामका प्रहरी नायब उपरीक्षक (डिएसपी) जनकबहादुर शाहीले बताउनु भयो । ‘काठमाडौं परिसरले हामीलाई पक्राउ गरी पठाउने भनी पठाएको पत्रका आधारमा उनलाई समातेर अनुसन्धानका लागि उतै पठाइएको हो,’ डिएसपी शाहीले भन्नुभयो ।
पत्रकार सालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा लामिछानेलाई महानगरीय प्रहरी परिसर र अपराध महाशाखाको टोलीले न्युज २४ को कार्यालयबाटै पक्राउ गरेको थियो । साउन ३० गते पक्राउ परेका लामिछानेमाथि आत्महत्या दुरुत्साहनमा जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान गरिरहेको छ । पछिल्लो समय सामाजिक सञ्जालमा तथानाम गाली गर्न थालेपछि प्रहरीले बिशेष अप्रेशन नै गर्न थालेको छ ।
अव सामाजिक सञ्जालमा गाली गलौजको भाषा प्रयोग गर्ने, चरित्र हत्या गर्ने र बदनाम गर्ने जोकोही प्रहरीको निगरानीमा पर्न थालेका छन । प्रहरीले स्वदेशदेखि बिदेशसम्म रहेका नेपालीको सामाजिक सञ्जाल वाच गर्दै कार्वाही अघि बढाउन थालेको हो ।
प्रतिक्रिया दिनुहोस्