जनता टाइम्स

७ फाल्गुन २०७९, आईतवार ०१:२४

प्रजातन्त्र दिवसमा एमाले अध्यक्ष ओलीको तीन अठोट (पूर्णपाठ)


काठमाडौं, फागुन ७ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानलाई अझ सवल रुपमा अगाडि बढाउने अठोट गर्नुभएको छ ।

प्रजातन्त्र दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै एमाले अध्यक्ष ओलीले यस्तो अठोट गर्नुभएको हो । ‘संवैधानिक प्रवन्धको गलत व्याख्याद्वारा हामीलाई सरकारबाट बाहिर पुर्याइएपछि अवरुद्ध हुनपुगेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने हाम्रो अभियानलाई हामी अझ सवल रुपमा अगाडि बढाउन चाहन्छौं,’ अध्यक्ष ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ ।

अध्यक्ष ओलीले बिगतमा एमाले नेतृत्वको सरकारको पालामा मुलुकलाई समृद्ध बनाउने अभियान अघि बढाइएको तथ्य पनि राख्नुभएको छ । ‘नेकपा (एमाले)ले सरकारको नेतृत्व गरिरहंदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्न आफ्ना हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गरेको थियो,’ अध्यक्ष ओलीले भन्नुभएको छ ।

उहाँले मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजूट भई योगदान गर्न सवैमा आह्वान पनि गर्नुभएको छ । उहाँले प्रजातन्त्र दिवसमा प्रजातन्त्रप्राप्तिको लामो र वलिदानपूर्ण संघर्षमा आफूलाई समर्पित गर्नुहुने अमर शहीदहरु शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायत सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

अध्यक्ष ओलीले सन्देशमा भन्नुभएको छ, ‘आज नेपाली जनताको एकतावद्ध संघर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको दिन । २००७ साल फागुन ७ गते, आजकै दिनलाई नेपालको इतिहासमा हामीले उज्यालो नयाँयुगको आरम्भ बिन्दुका रुपमा स्थापित गरेका थियौं । जनताको बलिदानीद्वारा शासन प्रणालीको पात्रो बदलिएको यस ऐतिहासिक दिनका अवसरमा म देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रजातन्त्रप्राप्तिको लामो र वलिदानपूर्ण संघर्षमा आफूलाई समर्पित गर्नुहुने अमर शहीदहरु शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायत सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।’

उहाँले सन्देशमा संबिधानसभाद्वार नयाँ संबिधान जारी भएपछि बनेको एमाले सरकारले मुलुकका हरेक क्षेत्रमा सुधारको काम थालेको स्मरण पनि गर्नुभएको छ ।

सन्देशमा भन्नुभएको छ, ‘समाज, राजनीति र शासन प्रणालीमा जहानियाँ निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रुपमा हामी यस दिनलाई स्मरण गर्दछौं । संविधानसभाद्वारा संविधान निर्माणपछि भएको पहिलो आम निर्वाचनबाट बनेको हाम्रो पार्टी नेकपा (एमाले)को सरकारले मुलुकलाई गरिवीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेको थियो । अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा राष्ट्रको स्वाभिमान र स्वाधीनताको उचाइ बढाएको थियो । जनताको संघर्षबाट प्राप्त लोकतन्त्रको आधारभूमिमा टेकेर हामी मुलुकलाई समृद्ध बनाउने दिशामा अग्रसर थियौं ।संविधानसभामार्फत् जनताको संविधान निर्माण गरी तदनुरुपका संरचनालाई बलियो बनाउँदै हामी सुशासन र विकासको दिशामा अघि बढिरहेका थियौं । अर्थात, हामीले प्रजातान्त्रिक आन्दोलनमार्फत देशको गरिमा र यश विस्तार गर्ने जनताको चाहनालाई सफलताको दिशामा अभिमूख गराउन आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्दै मुलुकलाई अघि बढाएका थियौं ।’

शुभकामना सन्देशको पूर्णपाठ

आज नेपाली जनताको एकतावद्ध संघर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको दिन । २००७ साल फागुन ७ गते, आजकै दिनलाई नेपालको इतिहासमा हामीले उज्यालो नयाँयुगको आरम्भ बिन्दुका रुपमा स्थापित गरेका थियौं । जनताको बलिदानीद्वारा शासन प्रणालीको पात्रो बदलिएको यस ऐतिहासिक दिनका अवसरमा म देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रजातन्त्रप्राप्तिको लामो र वलिदानपूर्ण संघर्षमा आफूलाई समर्पित गर्नुहुने अमर शहीदहरु शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमालगायत सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु ।

समाज, राजनीति र शासन प्रणालीमा जहानियाँ निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रुपमा हामी यस दिनलाई स्मरण गर्दछौं । संविधानसभाद्वारा संविधान निर्माणपछि भएको पहिलो आम निर्वाचनबाट बनेको हाम्रो पार्टी नेकपा (एमाले)को सरकारले मुलुकलाई गरिवीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अव्यवस्थाबाट सुव्यवस्थातिर अगाडि बढाइरहेको थियो । अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा राष्ट्रको स्वाभिमान र स्वाधीनताको उचाइ बढाएको थियो । जनताको संघर्षबाट प्राप्त लोकतन्त्रको आधारभूमिमा टेकेर हामी मुलुकलाई समृद्ध बनाउने दिशामा अग्रसर थियौं । संविधानसभामार्फत् जनताको संविधान निर्माण गरी तदनुरुपका संरचनालाई बलियो बनाउँदै हामी सुशासन र विकासको दिशामा अघि बढिरहेका थियौं । अर्थात, हामीले प्रजातान्त्रिक आन्दोलनमार्फत देशको गरिमा र यश विस्तार गर्ने जनताको चाहनालाई सफलताको दिशामा अभिमूख गराउन आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्दैमुलुकलाई अघि बढाएका थियौं ।

नेकपा (एमाले)ले सरकारको नेतृत्व गरिरहंदा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्न आफ्ना हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गरेको थियो । संवैधानिक प्रवन्धको गलत व्याख्याद्वारा हामीलाई सरकारबाट बाहिर पुर्याइएपछि अवरुद्ध हुनपुगेको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने हाम्रो अभियानलाई हामी अझ सवल रुपमा अगाडि बढाउन चाहन्छौं । नेकपा (एमाले)को यस अभियानमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुको साथ रहने छ भन्ने मेरो विश्वास छ ।

जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित भएको यस ऐतिहासिक दिनका अवसरमा नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने अमर शहीदहरुप्रति म पुनः एकपटक हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा एकजूट भई योगदान गर्न दिदीबहिनी तथा दाजुभाइहरुमा महार्दिक आह्वान गर्दछु ।