जनता टाइम्स

१ भाद्र २०७६, आईतवार १९:५२

साहुको सोह्र लाख लुकाउन लुटको नाटक, सिसी टिभीले खोल्यो यसरी पोल


काठमाडौं, भदौं १ । आज दिउँसो १ः३० बजेतिर महानगरीय प्रहरी परिसर काठमाडौंको कन्ट्रोलमा फोन आयो, फोन उठन साथ एक युवाले भने, ‘न्यूरोडबाट मेरो १६ लाख पैसा लुटियो। खोजिदिनु पर्यो ।’ फोन गर्ने ब्यक्ति थिए, गोयल एजेन्सीमा कार्यरत मनिसकुमार साह ।

प्रहरीलाई फोन गरेर न्यूरोडमा मोटरसाइकलमा आएको व्यक्तिले एजेन्सीका लागि उठाएको १६ लाख रुपैयाँ लुटिएको जानकारी उनले प्रहरीलाई गराए । उनको मौखिक उजुरी सुनाउनसाथ महानगरीय प्रहरी परिसर टेकुको टोली पचिालन भयो । साहले भनेको हुलियाको मान्छे खोज्न चारैतिर प्रहरी परिचालन भयो । तर कँही कतै लुटेराको सुराकसमेत पाउन सकेन । सवैतिर खोज्दा पनि लुटेरा पत्ता नलागेपछि प्रहरीको अनुसन्धान साहतिरै नै सोजियो । प्रहरीले उनीमाथि शंका गर्यो, अन्तत प्रहरीको शंका सही देखियो ।

दीपक गोयलको एजेन्सीमा काम गर्ने साहले मार्केटकबाट उठाएको १६ लाख रुपैया हडप्न सो योजना बनाएका थिए । तीन महिनाअघिबाट मात्रै सो एजेन्सीमा काम गर्न थालेको उनी आफै दोषी ठहरिए । बजारबाट उठाएको १६ लाख पचाउनलाई उनले नाटक गरेको अनुसन्धानबाट खुलेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार लुटिएको बहाना बनाएका साहले डल्लुस्थित आफ्नो डेरामा सो रकम राखेका थिए । अहिले उनलाई प्रहरी परिसर टेकुमा राखेर अनुसन्धान भइरहेको छ ।

सीसी टीभीले खोल्यो यसरी पोल

साहको बयानपछि अनुसन्धान अधिकृतले बैंक छेऊको सीसी टीभी फुटेज विश्लेषण गर्न थाले । तर, कुनै पनि फुटेजमा युवक देखिएनन् । न त उनले लुटपाटमा प्रयोग भएको भनिएको पल्सरकै पहिचान गर्न सके । त्यसपछि प्रहरीलाई साहको बयान नै शंकास्पद लाग्न थाल्यो । सोधपुछका क्रममा उनले पैसा नहराएको स्वीकारे । त्यसपछि डीएसपी बोगटी नेतृत्वको टोली डल्लूस्थित शाहको कोठा पुग्यो ।

कोठामा टीभी पछाडि उनले पैसा लुकाएर प्रहरीलाई खबर गरेका रहेछन,’ बोगटीले भन्नुभयो । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले सीसी टीभीका कारण युवकको ढाँट लुक्न नसकेको बताउनु भयो । ‘सीसी टीभी एक्सेस थिएन भने अनुसन्धानका लागि अरु बाटो पहिल्याउनु पर्ने हुनसक्थ्यो अथवा लुटिएकै मानिने थियो,’ सुवेदीले भन्नुभयो ।