काठमाडौं, फागुन ८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा सहयोग माग्दै आएका नेपाली कांग्रेसका शीर्ष नेतालाई निरास बनाएर फर्काइ दिनुभएको छ । राष्ट्रपति माग्दै प्रधानमन्त्री निवास बालुवाटार पुग्नुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुलाई प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुन नसक्ने प्रष्ट तस्विर राखेर फिर्ता पठाउनु भएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनु भएका प्रधानमन्त्री दाहाललाई भेट्न नेपाली कांग्रेसका सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला आज साँझ बालुवाटार पुग्नुभएको थियो ।
प्रधानमन्त्री र कांग्रेस नेताबीच आगामी राष्ट्रपति चयनका विषयमा खुलेरै कुराकानी भएको र प्रधानमन्त्री दाहालले पनि खुलेरै कुरा राखेको बालुवाटार स्रोतले जनाएको छ । कांग्रेस नेताहरूले विगतमा भएको समझदारी अनुसार राष्ट्रिय सहमतिको वातावरण मिलाउन राष्ट्रपति कांग्रेसबाट बन्नुपर्ने बताउनु भएको थियो ।
राष्ट्रपतिका आकांक्षी नेताहरू रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पनि राष्ट्रपति कांग्रेसबाटै हुनुपर्ने बताउनु भएको थियो । कांग्रेसबाट राष्ट्रपति हुँदा छिमेकीलाई समेत सहज हुने उहाँहरुको तर्क थियो । बार्तामा सभापति देउवाले कांग्रेसले वर्तमान सरकारलाई सघाएको भन्दै सत्ता साझेदार र संसदमा रहेका दलसँग सहमति जुटाउने पहल गर्न आग्रह गर्नुभएको थियो ।
नयाँ राष्ट्रपति चयन गर्न आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन हुँदैछ । सत्ता गठबन्धनबीच एमालेबाट राष्ट्रपति हुने सहमति पुस १० गते नै भइसकेको छ । तर कांगेस नेताहरुले आफूहरुले प्रधानमन्त्रीलाई बिश्वासकोमत दिएकोले राष्ट्रपति पाउनु पर्ने अडान राखेका थिए ।
मेरो प्रयास जारी नै छ । मैले एमाले अध्यक्ष केपी ओलीसँग पटक पटक छलफल पनि गरेको छु । तर ओलीजी राष्ट्रपति अरु दललाई दिन मान्दै मान्नु हुन्न, गठबन्धन तोडेर अर्काे बाटो लिने कुरा त संभव भएन नि

कांग्रेस नेताको कुरा सुनेपछि प्रधानमन्त्री दाहालले आफूले सक्दो प्रयास गरिरहेको तर कांग्रेसलाई राष्ट्रपति दिने कुरा असंभव बन्दै गएको तथ्य राख्नुभएको छ ।
’म केपीजी र एमालेका अन्य नेताहरुसँग कुरा गरिरहेको छु । मेरो प्रयास जारी नै छ । मैले एमाले अध्यक्ष केपी ओलीसँग पटक पटक छलफल पनि गरेको छु । तर ओलीजी राष्ट्रपति अरु दललाई दिन मान्दै मान्नु हुन्न, गठबन्धन तोडेर अर्काे बाटो लिने कुरा त संभव भएन नि,’ कांग्रेस नेताहरुलाई प्रधानमन्त्री दाहालको जवाफ उधृत गर्दै बालुवाटार स्रोतले जनताटाइम्स डटकमसँग भन्यो । प्रधानमन्त्री दाहालले बर्तमान सत्ता गठबन्धन भन्दा बाहिर गएर राष्ट्रिय सहमति हुन नसक्ने भएकोले एमालेसँग कांग्रेस आफैले कुरा गर्नुपर्ने पनि सुझाउनु भएको छ ।
कांग्रेस नेताहरूले नेकपा माओवादी केन्द्रले पनि राष्ट्रपति बारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्नुपर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डको आजको जवाफपछि कांग्रेस नेताहरु निरास भएर फर्किएको बालुवाटार स्रोतले जनायो ।













प्रतिक्रिया दिनुहोस्