जनता टाइम्स

९ फाल्गुन २०७९, मंगलवार ११:४१

स्कटल्यान्डविरुद्ध सन्दीप लामिछानेको आक्रामक बलिङ, पाँच ओभरमा चार विकेट लिए


काठमाडौं, फागुन ९ । स्कटल्यान्डबिरुद्धको खेलमा नेपाली क्रिकेटर सन्दीप लामिछाने चम्किएका छन । स्कटल्याण्ड र नेपालबीचको दोस्रो एकदिवसीय खेलमा सन्दिपले एक्लै ४ विकेट लिएर जादू देखाएका हुन । त्रिवि मैदानमा जारी खेलमा सन्दिपले सनसनीपूर्ण बलिङ गर्दै पाँच ओभरमै चार विकेट लिएका हुन । टस हारेर ब्याटिङमा बोलाइएका स्कटिस ओपनरहरुले फास्ट बलरहरुविरुद्ध राम्रो सुरुवात गरेका थिए । सोमपाल कामी र करण केसीले नेपाललाई सुरुवाती सफलता दिलाउन सकेनन ।

करणले प्रशस्त रन खर्चिए भने सोमपालले कसिलो बलिङ गरे पनि विकेट लिन सकेनन । अन्ततः कप्तान रोहित पौडेलले आठौ ओभरमा नै सन्दीपलाई बलिङमा उतारे । सन्दिपले आफ्नो पहिलो ओभरमै विकेट लिएर नेपालको खाता खोले । नेपालका प्रमुख बलर सन्दीपमाथि हावी भएर खेल्ने स्कटिस टिमको रणनीति देखिएको छ ।सन्दीपले आफ्नो दोस्रो ओभरको पाचौं र छैटौं बलमा लगातार विकेट लिन सफल भएका थिए ।

विष्फोटक अन्दाजमा खेलिरहेका जर्ज मुन्सेलाई सन्दीपले बोल्ड गरेसँगै नेपाल खेलमा फर्किएको थियो । कुशल मल्लले एक विकेट थप्दै नेपालको विकेट संख्या चार पुर्याए । त्यसपछि सन्दीपले फेरि आफ्नो पाचौं ओभरमा चौंथो विकेट लिन सफल भएका हुन । यस्तै ३४.३ ओभरमा करण केसीको बलमा म्याथ्यु क्रसलाई दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका छन् ।