जनता टाइम्स

२ भाद्र २०७६, सोमबार ०९:२९

रेलमार्गका लागि १४ वटा पुलको निर्माण शुरु, जनकपुर जयनगरमा छठ अघि रेल चल्ने


काठमाडौं, भदौ २

सरकारले रेगमार्ग निर्माणका लागि १४ वटा पुलको निर्माण कार्य शुरु गरेको छ । महोत्तरीको बर्दिबासदेखि बाराको निजगढसम्म रेल ल्याउनका लागि आवश्यक पर्ने १४ वटा पुल निर्माण कार्य सुरु गरेको हो ।

७० किलोमिटरको दुरीमा निर्माण हुने सो रेलमार्गमा साना ठुला गरी १४ वटा पुलको निर्माण हुने रेल विभागले जनाएको छ । करिव ५ अर्ब रुपैयाँ लागतमा बन्ने पुल निर्माणसँगै रेलमार्ग निर्माणको काम पनि समान गतिमा हुने विभागका महानिर्देशक बलराम मिश्रले जानकारी दिनुभयो । पुल निर्माणका लागि बिभिन्न कम्पनीसंग ठेक्का सम्झौता भइसकेको छ ।

त्यस्तै निजगढ–लालबन्दी रेलमार्ग निर्माणको प्रारम्भीक ट्रयाकबेडको काम पनि सुरु गरिएको छ । रेलको लिक निर्माण अघि गरिने सो काम केहि महिनामै सकेर लिक बिछ्याउने काम थाल्ने विभागको तयारी छ । ४० किलोमिटर लामो सो रेलमार्गका लागि ८ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ ।

यसैबीच जनकपुर जयनगर चल्ने रेल निर्माणको काम सम्पन्न भएको छ । रेल निर्माणको जिम्मेबारी पाएको भारतीय कम्पनी कोन–कोन रेल्वे कर्पोरेशनले रेलको निर्माण सम्पन्न गरेको जानकारी विभागलाई गराएको हो । ३५ किलोमिटरको सो रुटमा आगामी छठ सम्ममा रेल सञ्चालन गर्ने गरी विभागले तयारी गरेको छ । २ वटा रेल निर्माणका लागि बिभागले कर्पोरेशनसंग ८५ करोडको सम्झौता गरेको थियो ।