जनता टाइम्स

२ भाद्र २०७६, सोमबार १३:१२

१८० औं विश्व फोटोग्राफी दिवस, पोखरामा प्रभातफेरी


पोखरा, भदौ २

एक सय असी औँ विश्व फोटोग्राफी दिवसका अवसरमा पोखरामा आज प्रभातफेरी गरिएको छ । फोटोग्राफर सङ्घ गण्डकी प्रदेशद्वारा आयोजित प्रभातफेरी पोखराको मानव अधिकार चोकबाट शुरु भई चिप्लेढुङ्गा महेन्द्रपुल हुँदै पुनः मानव अधिकार चोकमा पुगी कोणसभामा परिणत भएको थियो । उक्त क्रममा देशव्यापी साइकल भ्रमणमा निस्कनुभएका खोटाङका युवा कर्ण श्रेष्ठलाई सम्मान गरियो ।

पर्र्यटन प्रवद्र्धन गर्दै भ्रष्टाचारमुक्त देश बनाउनका लागि देश दौडाहामा निस्केका साइकलयात्रीलाई सम्मान गर्न पाउनु आफूहरूका लागि गौरवको विषय भएको फोटोग्राफर सङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष दुर्गाप्रसाद पौडेलले बताउनुभयो । सम्मानित व्यक्तित्व श्रेष्ठले देशलाई भ्रष्टाचारमुक्त बनाउन सचेतना अभिवृद्धिका साथै विभिन्न पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आफू साइकलबाट नेपाल भ्रमणमा निस्केको बताउनुभयो ।

कार्यक्रममा फोटो पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष राम गुरुङ, पोखरा उद्योेग वाणिज्य सङ्घ सदस्य रामेश्वर अधिकारी, फोटोग्राफर सङ्घ गण्डकीका महासचिव तुलसीराम सुवेदी लगायतले फोटोग्राफी दिवसको महत्वबारे प्रकाश पार्नुभयो ।