जनता टाइम्स

२ भाद्र २०७६, सोमबार १६:०८

आइकाओ सम्मेलनमा पर्यटनमन्त्री भट्टराईले राखे हवाई सुरक्षा सुधारको क्षेत्रमा नेपालले गरेको प्रगति


काठमाडौं, भदौं २ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाई सुरक्षा सुधारको क्षेत्रमा नेपालले पछिल्लो समय उल्लेख्य प्रगति गरेको जानकारी दिनुभएको छ । आजबाट काठमाडौंमा सुरु भएको अन्तराष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को एशिया तथा प्रशान्त क्षेत्रका हवाई महानिर्देशकहरुको ५६ औँ सम्मेलन पर्यटनमन्त्री भट्टराईले सो जानकारी दिनुभएको हो ।

‘हवाई सुरक्षा सुधारको क्षेत्रमा नेपालले पछिल्लो समय उल्लेख्य प्रगति गरेको छ, यसलाई आगामी दिनमा थप प्रभावकारी बनाउन पहलकदमी भइरहेको छ,’ एशिया प्रशान्त क्षेत्रका ४६ देशका ३९० विदेशी पाहुना (विदेशी उच्च अधिकारी) को सहभागिता रहेको सम्मेलनमा पर्यटनमन्त्री भट्टराईले भन्नुभयो ।

उहाँले आइकाओलगायत अन्तराष्ट्रिय हवाई निकायको मापदण्ड अनुरूप नेपालको हवाई क्षेत्रको सुरक्षा, संस्थागत सुधार, सेवा स्तरीकरण तथा पूर्वाधार विकासमा सरकार लागि परेको जानकारी पनि दिनुभयो । हवाई उड्डयनको क्षेत्रमा नीतिगत सुधारको काम अघि बढाइएको र आईकाओको चासो अनुरूप प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायको रूपमा स्थापित गर्न कानून निर्माणको चरणमा रहेको जानकारी मन्त्री भट्टराईले दिनुभयो । नेपालले हवाई क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गर्दै आइकाओ प्रेसिडेन्ट काउन्सिल सर्टिफिकेट प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै मन्त्री भट्टराईले आगामी दिनमा यस क्षेत्रको सुधारका काम गरिने उल्लेख गर्नुभयो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले नेपालको वायु सेवा सुरक्षाको अवस्था सुधारमा नेपालले प्रगति हासिल गरिरहेको सन्दर्भमा यस्ता सम्मेलनले नेपालको हवाई क्षेत्रलाई थप विश्वसनीय बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको हवाई सुरक्षा आइकाओले निर्धारण गरेको भन्दा धेरै विषयमा प्रगति भएको उल्लेख गर्दै उहाँले निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थल निर्माण तीव्रता तथा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालनको वातावरण सिर्जना गरिएको उल्लेख गर्नुभयो ।

आइकाओ काउन्सिल अध्यक्ष ओलुमोयिवा बनार्ड अल्यूलेले अन्तराष्ट्रिय हवाई क्षेत्रमा आएको आधुनिक प्रविधिको नवीनतम आयामलाई उच्चतम प्रयोग गरी हवाई सुरक्षालाई थप गुणस्तरीय बनाउनेतर्फ सामूहिक प्रयत्न गरिनुपर्नेमा जोड दिनुभयो । आइकाओका एशिया प्रशान्त क्षेत्रीय निर्देशक अरुण मिश्रले उड्डयन क्षेत्रलाई सुरक्षित र विश्वसनीय बनाउन लागिपरेको उल्लेख गर्दै हवाई क्षेत्रको सुधारका दृष्टिकोणले नेपाल प्रगतिको दिशातर्फ उन्मुख रहेको बताउनुभयो ।

आइकाओ स्थापनाको ७५औँ हीरक वर्षका अवसरमा नेपालमा तेस्रो पटक सम्मेलन गरिएको हो । यस्तो सम्मेलन हरेक देशले पालैपालो गर्ने गर्छन् । आइकाओमा नेपालसहित १९३ सदस्य राष्ट्र छन् । यसअघि नेपालम सन् १९७६ मा पहिलो र सन् १९९८ मा दोस्रो पटक सम्मेलन भएको थियो । यसै वर्षको वसन्त ऋतुमा आइकाओको हीरक झण्डा सगरमाथामा फहराइएको थियो । उक्त झण्डा पर्यटनमन्त्री भट्टराईले आजै आइकाओ काउन्सिल अध्यक्षलाई हस्तान्तरण गर्नुभएको थियो ।

नेपालको उड्डयन क्षेत्रमा विभिन्न किसिमका टिप्पणी भइरहेको सन्दर्भमा उच्च तहका विदेशी अधिकारीको ठूलो जमघट हुने सम्मेलनले नेपालको उड्डयन तथा पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । एशिया प्रशान्त क्षेत्रका अमेरिका, बेलायत, फ्रान्स, युरोपेली सङ्घ, जापान, बोइङ, एयरबस, इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएशन (आयोटा)लगायत अन्तराष्ट्रिय सङ्घसंस्थाको सहभागिता रहेको सम्मेलनमा एशिया प्रशान्त क्षेत्रको उड्डयनको ‘सेफ्टी’, ‘सेक्युरिटी’, प्राविधिक क्षमता अभिवृद्धि, पूर्वाधार विकासलगायत विषयमा छलफल हुने जनाइएको छ ।

आगामी अक्टोबर महीनामा आइकाओ मुख्यालय मन्ट्रियलमा हुने आइकाओ ४०औँ महासभामा अहिलेको सम्मेलनको निष्कर्षलाई प्रस्तुत गरिने प्राधिकरणका महानिर्देशक पोखरेलले बताउनुभयो । यो सम्मेलन अघिल्लो वर्ष फिजीमा भएको थियो भने नेपालपछि बङ्गलादेशमा आयोजना हुनेछ ।