दुबई, फागुन १५ । कुशल भुर्तेलको अर्धशतकप्रेरित नेपालले आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आजदेखि सुरु भएको त्रिदेशीय एकदिवसीय शृंखलामा नेपालले विजयी सुरुआत गरेको छ। दुबई क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पपुवा न्युगिनीलाई नेपालले लगातार पाँचौ जित निकाल्दै पिएनजी ४ विकेटले पराजित गरेको हो ।
पपुवा न्युगिनीले ९ विकेट गुमाएर दुई सय तीन रनको योगफल तयार गरेको थियो।जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४५.२ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्दै शृंखलामा विजयी सुरुआत गरेको छ। नेपालका लागि अोपनर कुशल भुर्तेलले ६९ बलमा पाँच चौकासहित ५६ रनको अर्धशतकीइ इनिङ खेले। यस्तै, आसिफ शेख ३९ बलमा पाँच चौकासहित ४४ रन बनाएर पेभेलियन फर्किँदा ज्ञानेन्द्र मल्ल चार तथा कप्तान रोहित पौडेल २० रन बनाएर आउट भए।
तर, चौथो विकेटका लागि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले ५४ रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए। दीपेन्द्रसिंह १७ रन बनाएर पेभेलियन फर्किँदा आरिफ ६२ बलमा एक चौकासहित ३३ रन जोडेर आउट भए। कुशल मल्ल १२ र सोमपाल ५ रनमा अविजित रहे।
पीएनजीका कप्तान आसाद भालाले १० ओभरमा ३७ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै, नोमन भानुवा र सेसे बाउले एक–एक विकेट लिए। पहिलो इनिङमा पीएनजीले ९ विकेट गुमाएर दुई सय तीन रनको योगफल तयार गर्यो।
पीएनजीका लागि चाड सोपरले ५३ बलमा दुई चौकासहित अविजित ३६ रनको अविजित इनिङ खेल्दा नोमान भानुवा १५ बलमा २५ रन बनाएर आउट भए। यसअघि कप्तान आसाड भाला ५३ बलमा चार चौकासहित ३६ रन जोडेर आउट हुँदा सेसे बाउ ५५ बलमा तीन चौकासहित ३१ रन बनाएर पेभेलियन फर्केका थिए।
त्यसबाहेक ओपनर किप्लिन डोरिगाले २९ रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। बलिङतर्फ नेपालका लागि गुल्शन झाले ९ ओभरमा २८ रन खर्चेर सर्वाधिक तीन विकेट लिए। यस्तै, कुशल मल्लले दुई तथा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले एक–एक विकेट लिएका थिए। एकदिवसीय मान्यता बचाउन बाँकी आठमध्ये पाँच खेल जित्नै पर्ने दबाब छ।
यस्तै, एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाललाई बाँकी आठै खेलमा जित निकाल्नु पर्ने दबाब छ। यो लिग २ को दोस्रो अन्तिम त्रिदेशीय शृंखला हो।
प्रतिक्रिया दिनुहोस्