जनता टाइम्स

२ भाद्र २०७६, सोमबार १८:३४

मेलम्चीबारे सुझाव दिन खानेपानी मन्त्रालयले गठन गर्यो विज्ञ सल्लाहकार समूह


काठमाडौं, भदौं, २ । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाका सम्बन्धमा आवश्यक सुझाव, सल्लाह र परामर्श दिने उदेश्यले पूर्वसचिवहरु सम्मिलित विज्ञ सल्लाहकार समूह गठन गरेको छ ।

खानेपानी मन्त्री बिना मगरको अगुवाइमा मन्त्रालयले खानेपानी क्षेत्रसंग सम्बन्धित विज्ञता हासिल गरेका पूर्वसचिवहरुको समूह गठन गरेको हो । पाँच सदस्यीय विज्ञ समूहमा पूर्वसचिवहरु बीरेन्द्रबहादुर देउजा, हरेराम कोइराला, सुमनप्रसाद शर्मा, भीम उपाध्याय र दीपेन्द्रनाथ शर्मा रहनु भएको प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिनुभयो ।

प्रवक्ता शाक्यका अनुसार मेलम्ची खानेपानी आयोजनामा देखिएका समस्याहरुलाई समाधान गर्न र आयोजनालाई द्रुतगतिमा अगाडि बढाउन विज्ञ समूहले आवश्यक सल्लाह सुझाव र परामर्श दिनेछ । मेलम्चीको साथसाथै विज्ञ समूहले अन्य खानेपानी आयोजनाको क्षेत्रमा समेत आवश्यक सल्लाह र परामर्श दिन सक्ने प्रवक्ता शाक्यले बताउनुभयो ।