जनता टाइम्स

३ भाद्र २०७६, मंगलवार १४:३७

एभिसी सेन्ट्रल जोन भलिबलमा तीन खेल हुँदै


काठमाडौं, भदौ ३

नेपाली भलिबलको इतिहासमा पहिलोपटक नेपालमै आयोजना भइरहेको एसियन भलिबल कन्फेडेरेशन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा आज तीन खेल हुँदैछ । ललितपुरको लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा हुने उक्त प्रतियोगिताअन्तर्गत पहिलो खेलमा समूह ‘बी’ को बङ्गलादेश र सोही समूहको अफगानिस्तानबीच खेल हुनेछ ।

खेल ३ बजेपछि शुरु हुनेछ । हिजो भएको पहिले खेलमा ती दुवै टोली पराजित भएका थिए । अफगानिस्तान तुर्कमेनिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो भने बङ्गलादेश उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । त्यस्तै आजै हुने दोस्रो खेलमा समूह ‘बी’ मा नै रहेको तुर्कमेनिस्तान र उज्वेकिस्तानबीच हुनेछ ।

खेल ५ बजेपछि शुरु हुनेछ । प्रतियोगितामा दुवै टोली लगातार दोस्रो जीत निकाल्ने दाउमा हुनेछन् । आजै हुने तेस्रो तथा अन्तिम खेलमा समूह ‘ए’मा रहेको कीर्गिस्तान र माल्दिभ्सबीच खेल हुनेछ । खेल ७ बजेपछि हुनेछ । सोमबार भएको पहिलो खेलमा कीर्गिस्तानले नेपाललाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।