जनता टाइम्स

४ भाद्र २०७६, बुधबार ०८:५५

इन्द्रजात्रा अवलोकन गर्न विभिन्न देशबाट नगर प्रमुख काठमाडौँ आउने


काठमाडौं, भदौ ४ यस वर्ष इन्द्रजात्राको अवलोकन गर्न महानगरको भगिनी सम्बन्ध भएका नगरका झण्डै ४८ जना पाहुना काठमाडौँ आउने भएका छन् । आगामी २७ गते पर्ने सो पर्वका अवसरमा छ देशका १३ नगरबाट पाँच प्रमुखसहित ४८ पाहुना आउने निश्चित भएको कामपाले जनाएको छ ।

महानगरको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयले महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई भेटेर सचिवालयको तयारीका विषयमा जानकारी दिएको छ । सचिवालयले गत सात महीना पहिलेदेखि इन्द्रजात्रा अवलोकनका लागि भगिनी सम्बन्ध भएका नगर प्रमुखहरुलाई निमन्त्रणा पठाउन थालेको थियो ।

यसै निमन्त्रणाका आधारमा अहिलेसम्म चीनको ल्हासाका प्रमुख गुहेओ गुहेओ, बङ्गलादेशको ढाका साउथ सिटी कर्पोरेशनका प्रमुख मोहम्मद सहिद खोकन, भूटानको थिम्पु नगरका प्रमुख किन्ले दोर्जे आउने निधो भएको छ । त्यस्तै, भारतको इष्ट दिल्ली म्युनिसिपल कर्पोरेशनका प्रमुख अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट प्रमुख सरदार अभतार सिंहको नेतृत्वको टोली जात्रा अवलोकन गर्न आउने पत्र प्राप्त भएको छ ।

त्यस्तै चीनबाट सियान, छेन्दु, सेञ्जेन, नान्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकवर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा जात्रा अवलोकन टोली काठमाडौँ आउने बताइएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले जात्रा अवलोकन गर्न आउने पाहुनाले इन्द्रजात्राका मूर्त अमूर्त पक्षको अवलोकन गर्ने बताउनुभयो । पाहुनाहरूलाई वसन्तपुरलगायत कामपाको भित्री शहरी क्षेत्र, स्वयम्भू र बौद्धनाथ क्षेत्र, चन्द्रागिरि, ललितपुरको पाटन र भक्तपुरको दरबार स्क्वायरको भ्रमण गराइने उहाँले जानकारी दिनुभयो ।

प्रमुख शाक्यले नेपाल भ्रमण वर्ष २०२० लाई यस्ता कार्यक्रमले प्रवद्र्धन गर्न सघाउने बताउनुभयो । त्यससँगै यसले भगिनी सम्बन्ध स्थापना भएका नगरका नागरिकसँग सम्बन्ध बढाउन र आपसी संस्कृतिको आदानप्रदान हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँ आउने पाहुनाले यहाँको सांस्कृतिक र ऐतिहासिक गरिमा सन्देशका रूपमा लैजाने विश्वास रहेको छ ।” टोली भदौ २६ गते काठमाडौँ आइपुग्नेछ भने भदौ ३० गते स्वदेश फर्किनेछ ।